चितवन : चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको प्रवक्ताको जिम्मेवारी डा. रामप्रसाद सापकोटालाई दिईएको छ । विगत छ वर्षदेखि सोही अस्पतालमा कार्यरत दशौँ तहका वरिष्ठ कन्सल्टेण्ट गाइनोक्लोजिष्ट डा. सापकोटालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
उनलाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले गरिरहेका नियमित कामको साथमा अस्पतालको प्रवक्ताको समेत थप जिम्मेवारी दिएका हुन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्टको अनुमति लिएर सूचनाहरु सार्वजनिक गर्ने, कसैले अस्पतालको विषयमा खास जानकारी मागेको खण्डमा प्रचलित कानुन बमोजिम दिने उनको जिम्मेवारी रहने छ ।
स्वास्थ्य डायरीसँग कुरा गर्दै सबैसँग मिलनसार स्वभावका डा. सापकोटाले प्रवक्ता बनेसँगै आफूले पाएको जिम्मेवारीलाई राम्रोसँग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । सबैको साथ सहयोगकै कारण आफू यो स्थानसम्म आइपुगेको भन्दै आगामी दिनहरुमा समेत यस्तै सहयोग साथ, सल्लाहा सुझावको समेत उनले अपेक्क्षा व्यक्त गरे ।
चितवनमा वरिष्ठ कन्सल्टेण्ट डा. सापकोटा स्त्री तथा प्रसूति रोग सम्बन्धी निकै चिरपरिचित तथा सफल चिकित्सक हुन । उनी सूचना मैत्री चिकित्सकको रूपमा समेत चिनिन्छन् । उनी अस्पतालको लागि तेस्रो प्रवक्ता हुन । यस अघि वरिष्ठ कन्सल्टेण्ट फिजिसियन डा. गोबिन्द कंडेल अस्पतालको दोस्रो प्रवक्ता थिए । उनको स्थानमा अहिले डा. सापकोटालाई जिम्मेवारी दिइएको हो ।
भरतपुर अस्पताल केन्द्रीय स्तरमा स्तरोन्नती भएसँगै प्रवक्ता नियुक्त गर्दै आएको छ । तत्कालीन वरिष्ठ कन्सल्टेण्ट पेडियाट्रिसियन डा.युवानिधी वसौलालाई पहिलो पटक अस्पतालले प्रवक्ता नियुक्ति गरेको थियो ।