विराटनगर : कोशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया सुरु भएको छ । आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि एक सय शय्याको उक्त अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रस्टबिच सम्झौता भएको हो ।
मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र ट्रस्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले उक्त अस्पताल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ट्रस्टले इटहरी उपमहानगर ११ पकलीस्थित भवानीपुरमा ७ वर्ष अगाडि खरिद गरेको २ बिघा १० कट्ठा जग्गामा ५० शय्या जलन र ५० शय्या सामान्य गरी १ सय शय्याको जलन अस्पताल निर्माण गर्न लागेको हो ।
ट्रस्टले पटक पटक उक्त अस्पताल निर्माणका लागि सरकारसँग पहल गरे पनि हालसम्म सम्भव हुन सकेको थिएन । प्रदेश सरकारले ट्रस्टसँग सम्झौता गरेर तीन महिनाभित्र उक्त अस्पताल निर्माण सुरु गर्न १ करोड ५० लाख बजेट दिन सम्झौता गरेको छ ।
४० करोड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन् ।