काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ। पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाइएको छ।
पनौती नगरका १२ वटै वडामा एकैसाथ उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो। पनौती-७ ढोकाफल पाटीमा आयोजित कार्यक्रममा पनौतीका नगरप्रमुख रामशरण भण्डारी र वडाध्यक्ष सविनकुमार ताम्राकारले ज्येष्ठ नागरिकलाई बिरामी पुर्जा दिएर कार्यक्रमको सुरुआत गरिएको थियो।
कार्यक्रममा भण्डारीले ज्येष्ठ नागरिक समाजका गहना भएकाले उनीहरूको स्वास्थ्य स्याहारमा परिवार, समुदाय र नगरको जिम्मेवारी रहने बताए। उनले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा निःशुल्करूपमा गरिने भएकाले प्रत्येक ज्येष्ठ नागरिकले परिवारको सहयोगमा स्वास्थ्य बीमासमेत गर्न अनुरोध गरे।
‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण घरघरमा तथा टोलटोलमा’ भन्ने नीति तथा कार्यक्रमअन्तर्गत प्रारम्भ भएको यस कार्यक्रमअन्तर्गत मङ्गलबार पनौती स्वास्थ्य चौकीले ६२ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै ल्याब परीक्षण गरेको छ। यस्तै बल्थली स्वास्थ्य चौकीले ३३, मल्पी स्वास्थ्य चौकीले ३३ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ। कार्यक्रम पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।