डडेल्धुरा : डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको अभावमा सीटी स्क्यान र प्याथोलोजी सेवा बन्द भएको छ ।
रेडियोलोजिष्टको अभावमा तीन महिनायता सीटी स्क्यान सेवा बन्द रहेको अस्पतालका निमित्त मेसु डा. सन्तोष गुप्ताले जानकारी दिए । रेडियोलोष्टि सरुवा भएर गएपछि सीटी स्क्यान सेवा बन्द भएको उनले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्ष पहिले छात्रवृत्तिबाट अध्ययन गरेका रेडियोलोजिष्टलाई करारमा डडेल्धुरा अस्पताल पठाएको थियो ।।
उनी गइसकेपछि मन्त्रालयले रेडियोलोजिष्ट पठाउन सकेको छैन । त्यसकारण करिब तीन महिना यता अस्पतालमा सीटी स्क्यान सेवा बन्द भएको छ । सीटी स्क्यान गराउन डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाका बिरामीहरु कैलाली लगायत अन्य जिल्ला जान बाध्य भएका छन् । गत वर्ष सीटी स्क्यान सेवा सञ्चालनमा हुँदा ८०० बिरामीलाई सीटी स्क्यान सेवा दिएको उनले बताए ।
सीटी स्क्यानसँगै विगतमा सुरुवात गरिएको प्याथोलोजी सेवा पनि हाल बन्द भएको उनले बताए । जनशक्ति नहुँदा प्याथोलोजी सेवा पनि बन्द भएको उनले बताए ।