काठमाडौँ : जन्तेढुङ्गा गाउँपालिका-५ चिसापानीमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको जग (बेस)मा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको छ । पेटी ठेक्कामा निर्माणको काम जिम्मा लिएका सिद्धगढी निर्माण कम्पनीले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको हो ।
चिसापानीमा निर्माणाधीन अस्पताल भवन विसं २०७९ असार २८ गतेभित्र निर्माणको काम सम्पन्न गरिसक्ने गरी विसं २०७८ असार २५ गते ड्रागन-रियर जेभीले ठेक्का सम्झौता गरेको थियो । तर, सो जेभीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको जनाइएको छ ।
करिब दुई वर्षअघि नै सम्पन्न गर्नुपर्ने निर्माणाधीन अस्पताल भवनको हाल पिलर ठड्याउने काममात्र हुँदै गरेको पाइएको छ । निर्माणाधीन अस्पताल भवनका लागि जग सम्याएर पिलर ठड्याउने काममा ठेकेदारले खुटा भन्ने ठाउँबाट बलौटे माटो ल्याएर प्रयोग गरिहरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।
निर्माणाधीन अस्पताल भवनमा कमसल सामान प्रयोग गरेको पाइएकाले यही पुस ११ गते ढलान भत्काउने मौखिक सहमति गरिए पनि कम्पनीले उक्त सहमति पालना नगरेको स्थानीय सुमन राईले बताए ।
‘गुणस्तरहीन काम भइरहेको जनगुनासो आएपछि हामी अनुगमनमा गएका थियौँ । निर्माण कम्पनी र गाउँपालिकाको इन्जिनियरको उपस्थितिमा गुणस्तरहीन तरिकाले निर्माण गरिएका संरचना भत्काउने सहमति भएको थियो’, उनले भने, ‘आजको मितिसम्म भत्काउने कुरा त होइन निरन्तर काम भइरहेको पाइयो । त्यहाँ न त गाउँपालिकाको प्राविधिक कै उपस्थिति छ न त जनप्रतिनिहरुको अनुगमन नै १ कमसल सामान प्रयोग गरेर निर्माण भइरहेको संरचना भत्काएर सही र गुणस्तरीय समान प्रयोग गरी पुनः निर्माण गरियोस् । हामी जनेढुङ्गाबासी उपभोक्ता सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछौँ ।’
कूल रु. २० करोड ७१ हजार पाँच सय ९० मा निर्माण सम्पन्न हुने निर्माणाधीन अस्पताल भवन विसं २०७७ मङ्सिर १५ गते तत्कालीन प्रदेश सांसद (हाल प्रतिनिधिसभा सदस्य) रामकुमार राई ‘पासाङ’ले शिलान्यास गरेका थिए । निर्माणाधीन अस्पताल भवन निर्माणको काम ठेकेदार कम्पनीले तोकिएको समयमा सम्पन्न नगरेपछि पुनः अर्को म्याद थपको प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।