सल्यान : जडान गरिएको दुई वर्षपछि सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुलीको भोल्टेज कम भएका कारण थन्किएको प्लान्ट विद्युत् प्राधिकरणले १०० केभीको ट्रान्सफर्मर जडान गरेपछि प्लान्ट सञ्चालनमा आएको हो ।
कोरोना कालमा संघीय सरकारको ७१ लाख रुपैयाँ अनुदानमा प्लान्ट निर्माण गरिएको थियो । दैनिक ४० लिटरको सिलिन्डर दैनिक ४० देखि ४८ थानसम्म भर्न सकिने क्षमताको अक्सिजन प्लान्ट २०७८ असारमा जडान गरिएको थियो । विद्युतको भोल्टेज नपुग्ने र जेनेटरबाट आर्थिक भार थेग्न नसक्ने भएपछि जडान गरेको झन्डै दुई वर्षपछि मात्र अक्सिजन प्लान्ट सञ्चालनमा आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए ।
अस्पताल विकास समिति अध्यक्ष प्रमोदकुमार श्रेष्ठले अब जिल्लाका निजी अस्पतालका लागि समेत अक्सिजन उत्पादन गरेर बेच्न सकिने बताए ।