कैलाली : कैलालीको गोदावरी नगरपालिकाले अघि सारेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू भएको छ । गत असार ८ गते सम्पन्न भएको दशौँ नगर सभामा नगरपालिकाले आर्थीक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘एक विद्यालय एक नर्स’को अवधारणा अनुसार विद्यालय नर्स कार्यक्रम सुरु गर्ने जनाएको थियो ।
चालु आर्थिक वर्षका झण्डै ५ महिनापछि मंसिर अन्तिम हप्तादेखि उक्त कार्यक्रम सञ्चालन भएको गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए । उत्त कार्यक्रमका लागि दरबन्दी सिर्जना गर्ने भनिएपनि नगरपालिकाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको संख्या उल्लेख्य भएको हुँदा हालका लागि उनीहरुलाई नै खटाइएको उनले बताए ।
एक विद्यालयमा एक नर्स आवश्यक भएपनि अहिले कार्यक्रम सुरुवातको क्रममा एक वडामा कम्तिमा एकजना नर्स रहने गरि १२ वटै वडामा गरि १६ जना स्वास्थ्यकर्मी खटाइएको अवस्थीको भनाई छ ।
स्वास्थ्यकर्मीले हरेक विद्यालयमा हप्ताको एकदिन स्वास्थ्य शिक्षाको बारेमा अध्यापन गराउने कार्यतालिका रहेको छ । यस कार्यक्रममा कक्षा ७ भन्दा माथिका विद्यार्थीलाई समेटिएको छ ।