बझाङ : जिल्ला अस्पताल बझाङ प्रसुती तथा स्त्रीरोग विशेषज्ञविहीन बनेको छ। यस अगाडि अस्पतालको मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर नवराज जोशीको स्वास्थ्य मन्त्रालयमै काज फिर्ता भएको थियो।
उनको त्यसबेला राजनैतिक दबाबका कारण काज फिर्ता गरिएको बताइएको थियो। त्यसबेला उनी एक्ला प्रसुती तथा स्त्रीरोग विशेषज्ञ थिए। अहिले उनको स्थानमा नाक, कान तथा घाँटीका विषेशज्ञ डाक्टर धिरज बिसन्ख आएका छन्।
अस्पतालकै तत्कालीन एक्ला प्रसुती तथा स्त्रीरोग विषेशज्ञ जोशीको नै काज फिर्ता भएपछि अस्पतालको सेवा भने प्रभावित बनेको छ। सेवा प्रभावितमात्र होइन, सुत्केरी तथा नवजात शिशुको ज्यानै जानेसम्मका घटना भएका छन्। हालै केही दिन अगाडि अस्पतालमा आएकी एक सुत्केरीको उपचारकै क्रममा नवजात शिशुको मृत्यु भएको थियो।
त्यसपछि ती महिलाको भने हेलिकप्टरमार्फत उद्धार गरेर ज्यान जोगाइएको थियो। त्यसपछि सो घटना सेलाउन नपाउँदै हिजो ९शनिबार० बझाङ अस्पतालमा एक गर्भवती महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–६ सिङराल्लीका ३५ वर्षीया गौबडीदेवी धामी रहेकी छन्। उनको आन्तरिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ। उनको विगत ३ महिनादेखि नियमित गर्भ जाँच नगराएका कारण बच्चा खेर गइसकेको र आन्तरिक रक्तश्रावका कारण शनिबार दिउँसो मृत्यु भएको जिल्ला अस्पताल बझाङले जनाएको छ।
रगत दिएर आइसियूमा राखिएकी उनलाई बचाउन अस्पताल निकै प्रयास गरे पनि नसकिएको बुझिएको छ। बेहोस अवस्थामा जिल्ला अस्पताल ल्याइएकी उनको थप उपचारका लागि हेलिकप्टर व्यवस्थापन गरिरहेका बेला धामीको मृत्यु भएको हो।
यसरी सुत्केरी र नवजात शिशुको ज्यान नै जान थालेपछि अस्पतालमा प्रसुती तथा स्त्रीरोग विशेषज्ञको माग गरेको र व्यवस्थापनको पहल भैरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोनु सिंहले बताए। केही दिनमै चिकित्सक व्यवस्थापन गरिने उनको भनाइ छ।