कैलाली: कैलालीको टीकापुरमा रहेको आयुर्वेद औषधालयमा औषधिको अभाव भएको छ। औषधालयमा दैनिक आउने बाथरोग, ग्याष्ट्रिक, पायल्स जस्ता रोगका बिरामीका लागि आवश्यक औषधिको अभाव भएको हो।
औषधालयमा आउने बिरामी औषधि नहुँदा रित्तो हात घर फर्किनु परिरहेको छ। टीकापुर नगरपालिका–५ का ६५ वर्षीय भीमबहादुर चौधरीले आफू दुईपटक आउँदा समेत बाथरोगको औषधि नपाएर फर्किनु परेको गुनासो गरे। त्यस्तै टीकापुर नगरपालिका–१ का सूर्यजंग शाहीले ग्याष्ट्रिकको औषधि नियमित खाने गरेकोमा दश दिनयता औषधि नपाएर पटकपटक रित्तो हात फर्किनुपरेको बताए। नियमित खानुपर्ने औषधि खान नपाएपछि बिरामीहरु रोग बल्झिने होकि भनेर चिन्तामा परेका छन्।
औषधालयका प्रमुख कविराज निरीक्षक अशोककुमार मिश्रले पछिल्लो समय आयुर्वेदिक औषधालयमा आउने बिरामीको संख्या बढ्दै गएको बताए। गत वर्षको तुलनामा बिरामीको संख्या बढेका कारण केही दिनयता औषधिको अभाव देखिएको मिश्रले बताए। ‘औषधालय र नगरपालिकाले औषधि खरिदका लागि कोटेसनको प्रक्रिया बढाइसकेको छ’ मिश्रले भने। मिश्रले दश दिनभित्रमा औषधालयमा पर्याप्त मात्रामा औषधि आइपुग्ने दाबी गरे।