काठमाडौँ : काठमाडौँ मेडिकल कलेजमा ४२ दिने शिशुको ’दुर्लभ’शल्यक्रिया गरिएको छ । केएमसीले ४२ दिनको शिशुको हर्नियाँको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको हो ।
केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्नियाँ भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ । चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलका वसन्त खड्काको शिशुको हर्नियाँको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।
अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्नियाँ भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्ना गरी भोलिपल्टै मिनिमल एसेस सर्जरी मार्फत हर्नियाँ निकालिएको बाल रोग सर्जन डाक्टर श्रेष्ठले बताए ।
‘शिशुको जन्मजातै दुवैतर्फ हर्नियाँ थियो । सामान्यतया साना शिशुहरूको शल्यक्रिया गर्नु ठुलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधिअनुसार नाइटोको छेउमा ३ एमएमको २ वटाप्वालपारेर अप्रेसन गरेका हौं । अहिले बच्चाको अवस्था एकदम ठिक छ ’ डा.श्रेष्ठले भने ।
उनले केएमसीमा बालबालिकाका जस्तोसुकै रोगको उपचार गर्न सकिने बताए । मुटुको शल्यक्रियाबाहेक केएमसीमा जस्तोसुकै उपचार सम्भव रहेको जिकिर गर्दै डा.श्रेष्ठले बालबालिकाहरूमा देखिएका कुनै पनि समस्याहरूमा अभिभावकले हेलचेक्र्याइँ गर्न नहुने पनि बताए ।
केएमसीमा न्यूरो इन्टरभेन्सन प्रविधि समेत रहेको छ । हाल केएमसीमा एपेन्डिक्सको ९९ प्रतिशत केसहरू ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरिन्छ । फियो निकाल्ने, पित्त थैलीको अप्रेसन, किड्नीको पत्थरीको अप्रेसन समेत ल्याप्रोस्कोपी प्रविधिमै हुने गरेको छ ।