नयाँ दिल्ली : भारतको शीर्ष औषधि नियन्त्रकले चार वर्षभन्दा कम उमेरका बालबालिकाहरूमा खोकीको झोल औषधि(कफ सिरप)को मिश्रणको प्रयोगमा रोक लगाएको छ ।
बुधवार प्रतिबन्धको आदेश दिइएको छ । औषधि निर्माताहरुले औषधिको प्याकेजिङ वा बोतलमा चार वर्षभन्दा कम उमेरका बालबालिकामा औषधिको प्रयोग गर्न हुँदैन भनेर अनिवार्य रूपमा चेतावनी राख्नुपर्नेछ ।
गएको वर्ष भारतीय कम्पनीले बनाएको खोकीको औषधि खाएर गाम्बिया र उज्बेकिस्तानमा एकपछि अर्को गर्दै दर्जनौँ बालबालिकाहरूको मृत्यु भएपछि यो प्रतिबन्ध लगाइएको हो ।
ँभारतमा पनि सन् २००१ देखि सन् २०२० को बीचमा त्यस्तै खालको औषधि खाएर कम्तीमा १२ जना बालबालिकाहरूको मृत्यु भएको थियो ।
प्रतिबन्ध लगाइएको औषधिहरूमा क्लोरफेनिरमिन मेलिएट र फिनाएलेफ्रिन रहेको छ । यो औषधिलाई सन् २०१५ मा अनुमति दिइएको थियो । यसलाई खोकीको झोल औषधि बनाउन र रुघा खोकीको लक्षणहरूको उपचारमा चलाइने चक्की औषधि बनाउन प्रयोग गरिन्छ ।