रसुवा : रसुवा जिल्ला अस्पतालको सहयोग र गोर्खा वेल्फेयर ट्रस नेपाल नामक संस्थाको आयोजनामा धुञ्चेमा सञ्चालित विशेष स्वास्थ्य शिविरमा आठ सयभन्दा बढीले उपचार गराएका छन् ।
रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहका अनुसार यही १६ गतेदेखि १९ गतेसम्म सञ्चालित शिविरमा दन्त तथा नाक, कान घाँटीको समस्या र अपाङ्गता भएका आठ सय ५९ नागरिकले उपचार गराएका थिए ।
स्वास्थ्यशिविरका लागि तीन दिनको समय तनोकिए पनि बिरामीको चापका कारण एक दिन थप गरी चार दिनसम्म सञ्चालन गरिएको थियो ।
उपचारका लागि आएका बिरामीमध्ये दुई सय ६९ कानको बिरामीमध्ये एक सय ४३ जनाको शल्यक्रिया गरिएको थियो। एक सय २१ जनालाई कानसुन्ने श्रवणयन्त्र प्रदान गरिएको र दुई जनाको कानको विशेष शल्यक्रियाका लागि काठमाडौँ पठाइएको थियो।
स्वास्थ्यशिविरमा पाँच सय ३४ जनाको दाँतको उपचार र अपाङ्गता भएका ५६ जनालाई सहयोग सामग्री वितरण गरिएको डा शाहले बताए ।
स्वास्थ्यशिविरमा गोर्खा वेल्फेयर ट्रस नेपालले आवश्यक उपकरणसहित ४१ भन्दाबढी जनशक्ति उपलब्ध गराएको सो संस्थाका व्यवस्थापकीय निर्देशक जय लिम्बूले जानकारी दिए । शिविरमा जिल्लाका पाँचवटै गाउँपालिका बासिन्दा सहभागी थिए । -रासस