काठमाडौं, १९ मंसिर । जनस्वास्थ्य कार्यक्रम संचालन गर्न राज्यको आधारभूत तहमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाको बिदाई रकम न्यून भएको र वर्षौदेखि पुनरावलकोन हुन नसकेकोमा उनीहरुले दुःख व्यक्त गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित २० औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बोल्दै स्वयंसेविकाका प्रतिनिधिहरुले स्वयंसेविकालाई निवृत्त हुने बेलामा दिइने भत्ता पुरानै २० हजार कायम गरिएकोमा दुःख व्यक्त गरेका हुन् । महिला स्वास्थ्य स्वयंसेविका गीता थिंगले दूरदराजका महिलाहरुले घरको काम र आफ्नो प्राथमिकता छाडेर स्वयंसेवामा खटिएकाले निवृत्त हुने समयमा कम्तिमा १ लाख रुपैयाँ भत्ता दिन माग गरिन् ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागको नर्सिंग तथा सामाजिक सेवा महाशाखाकी प्रमुख हिराकुमारी निरौलाले एकवर्षमा देशभरका ५४ हजार नर्सले गरेका कार्यहरुको विवरण पेश गरिन् ।
स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. अनुप बास्तोलाले महिला स्वास्थ्य स्वयंसेविकाका कारण नै जनस्वास्थ्यका कार्यक्रम सफल भएको बताए । उनीहरुको सुरक्षा र सहज जीवनयापनका लागि सरकारले थप सुविधा दिनुपर्ने भन्दै बास्तोलाले त्यसका लागि आफुले पहल गर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहले महिला स्वास्थ्य स्वयंसेविकाको मेहेनतका कारण सहश्राब्दी विकास लक्ष्यमा अधिकांश सुचांकहरु प्राप्त भएको र दिगो विकासको लक्ष्यप्राप्तीमा पनि स्वयंसेविकाको मुख्य योगदान रहने बताए ।
कार्यक्रममा राजधानीका विभिन्न स्थानीय तहमा कार्यरत स्वयंसेविकाहरुलाई सम्मान पनि गरिएको थियो ।