काठमाडौं, १९ मंसिर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभरि रहेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको परिवारको स्वास्थ्य बीमा गराउन ५० प्रतिशत योगदान रकम अनुदान दिने भएको छ ।
प्रदेश अन्तर्गतको काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले स्वयंसेविकाको यसअघि ५० प्रतिशत योगदान रकम संघीय सरकारले तिरिदिने गरेकोमा ५० प्रतिश प्रदेश सरकारले थप्ने निर्णय भएर प्रकृया सुरु भैसकेको बताए । सरकारका हरेक जनस्वास्थ्य कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्ने स्वयंसेविका र उनको परिवारको सुरक्षार्थ सरकारले स्वास्थ्य बीमाको योगदान रकममा अनुदान दिएको पौडेलको भनाइ छ ।
त्यस्तै बागमती प्रदेश सरकारले प्रदेशभरि स्वास्थ्य स्वयंसेविकालाई यसवर्ष प्रदेशका तर्फबाट जनही ५/५ हजार भत्ता उपलब्ध गराउने पनि निर्णय गरेको छ । प्रदेशले सबै स्वयंसेविकाको बैंक विवरण जम्मा गरिरहेको र सबै संकलन भैसकेपछि रकम वितरण गर्ने जनाएको छ ।
प्रदेशभरमा करिब ९ हजार सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।
विश्व स्वयंसेवक दिवस एवं २० औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा क्रममा स्वयंसेविकाहरुले भने राज्यले आफुहरुलाई दिएको बिदाई रकम कम भएको गुनासो गरेका छन् ।