काठमाडौं, १६ मंसिर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य सचिव बद्रिबहादुर खड्कालाई हटाएका छन् ।
विवादित सिटीस्क्यान खरिद प्रकरण अख्तियारसम्म पुगेका बेला काँग्रेसनिकट भनिएका खड्कालाई मन्त्री जोशीले मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेका हुन् । नुवाकोटको त्रिशुली अस्पतालमा सिटिस्क्यान खरिद गर्नेक्रममा अनियमितता भएको चर्चा चलेपछि जिल्ला अस्पतालका मेसुलाई स्पष्टिकरण सोधेका सचिव खड्कालाई नै मन्त्रीले सरुवा गराएका हुन् ।
५ करोड पर्ने सिटिस्क्यान मेशिन खरिदको अनियमिततामा संलग्न भएको भन्दै प्रदेशका मन्त्रीदेखि अस्पतालका मेसुसम्मको नाम चर्चामा आएपछि अख्तियारले सिटिस्क्यान खरिद प्रकृयाको सबै कागजात मगाएपछि सचिव खड्कालाई सरुवा गराइएको बुझिएको छ । सिटिस्क्यान खरिदमा करिब ३ करोडको अनियमितता गर्न लागिएको आशंका गरिएको छ ।
अख्तियारले खरिद प्रकृयामा अनुसन्धान थालेपछि स्पेशिफिकेशन मुल्यांकन गराउन खोजेको र मन्त्रीदेखि सचिवसम्मको नाम अनियमिततामा जोडिएको भन्दै खड्काले त्रिशुली अस्पपतालका निमित्त मेसु डा. प्रतिक सिंहलाई स्पष्टिकरण सोधेका थिए ।
स्पष्टिकरण सोधेपछि रुष्ट बनेका मन्त्री जोशीले काँग्रेसनिकट भनिएकै खड्कालाई हटाएका हुन् । स्वास्थ्य डायरीलाई प्रतिकृया दिँदै त्रिशुलीको मेसुलाई आफुले स्पष्टिकरण सोधेपछि आफ्नो सरुवा भएको हुनसक्ने खड्काले बताएका छन् ।
सचिव खड्काले गत मंसिर ७ गते त्रिशुली अस्पतालका मेसुलाई सोधेको स्पष्टिकरण पत्र