काठमाडौं, १६ मंसिर । शल्यचिकित्सकहरुको छाता संस्था सर्जन्स सोसाइटी अफ नेपालको अध्यक्षमा डा. रोमियो कंसाकार चयन भएका छन् ।
संस्थाको राजधानीमा जारी १५ औं अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा सम्पन्न अधिवेशनले कंसाकारलाई अध्यक्ष चयन गरेको हो । शुक्रवार आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष डा. सुनील कुमार शर्माले कंसाकारलाई अध्यक्षको पद हस्तान्तरण गरेका हुन् ।
कंसाकारका साथै संस्थाको निवर्तमान अध्यक्षमा डा. सुनील कुमार शर्मा, वरिष्ठ उपाध्यक्षमा डा. रोविन जोशी, उपाध्यक्षमा डा. विकल घिमिरे रहेका छन् । महासचिवमा डा. शैल रुपाखेती, कोषाध्यक्षमा डा. सुमिता प्रधान, सहसचिवमा डा. अनीप जोशी र सहकोषाध्यक्षमा डा. रोशन घिमिरे चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा डा. रुपेश मुखिया, डा. प्रनिल राई, डा. टंक प्रसाद बोहोरा, डा. सुशील ढुंगेल र डा. उत्सवमान प्रधान रहेका छन् ।
३ दिन चलेको सम्मेलनमा अधिवेशनका साथै विभिन्न कार्यपत्र प्रस्तुति र छलफलको सत्त सञ्चालन भएको छ । कार्यक्रममा भारत, श्रीलंका, पाकिस्तान, जापान, बेलायत लगायत देशबाट प्रतिष्ठित शल्यचिकित्सकहरु सहभागी भएका थिए ।
संस्थाले बयोवृद्ध शल्यचिकित्सकद्वय डा. एसके भट्टाचार्य र डा. विश्वराज दलीलाई गार्ड अफ अनरका रुपमा सम्मान गरेको छ । त्यस्तै डा. अच्यूत प्रसाद शर्मा, चन्द्रलाल भट्टचन र महेश खकुरेललाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मान गरिएको छ ।
सम्मानित भएपछि बोल्दै पुराना पुस्ताका चिकित्सकहरुले चिकित्सा क्षेत्र सो बेलाको तुलनामा धेरै अघि बढेको भन्दै नयाँ पुस्ताले चिकित्स क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे ।