धुलिखेल (काभ्रेपलाञ्चोक), १४ मङ्सिर । धुलिखेल अस्पतालको आयोजनामा स्वास्थ्य क्षेत्रमा विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो सम्मेलन हुने भएको छ ।
विपद्का बेला हुने जोखिमको पूर्वतयारीमा अस्पतालले के–कसरी काम गर्ने र व्यवस्थापकीय तयारी कस्तो हुनुपर्छ भन्ने विषयमा अन्तर अस्पतालबीच सञ्चार समन्वय गर्ने उद्देश्यले प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको आज धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका आकस्मिक विभागका डा सम्झना बस्नेतले जानकारी दिइन् ।
शुक्रबारदेखि तीन दिनसम्म चल्ने सम्मेलनमा चिकितसक र स्वास्थ्यकर्मी गरी भारतका दश जना र नेपालभित्रका ५० शय्याभन्दा माथिका अस्पतालबाट गरी करिब १३० देखि १४० जनाको सहभागिता रहनेछ ।
प्राकृतिक र मानवनिर्मित प्रकोपबाट हुने विपद्का बेलामा हुने घटनामा परेकाको उचित उपचार गर्न, गर्नुपर्ने पूर्वतयारीका विषयमा उद्धार र उपचारका लागि कुन अस्तापलमा को र कस्तो खालको विशेषज्ञ तयारी अवस्थामा छन् भन्ने विषयमा सञ्चार र समन्वय गर्नका लागि सम्मेलनले ठूलो भूमिका खेल्ने डा बस्नेतले जनाइन् । विपद्का बेलामा प्रभावकारी सञ्चार र समन्वय नहुँदा मानिसको ज्यान जाने भएकाले त्यससम्बन्धी सम्मेलनले अनुभव आदान–प्रदानदेखि नयाँ सीप सिक्न सम्मेलनले भूमिका खेल्ने उनको भनाई छ ।
धुलिखेल अस्पतालका मिडिया तथा सञ्चार प्रमुख डा सुमनराज ताम्राकारले सम्मेलनमा विपद्को क्षेत्रमा काम गर्ने अमेरिका, भारत, अस्ट्रेलिया र मलेसियाका विज्ञबाट प्रशिक्षण दिने बताए ।