बुटवल, १३ मंसिर । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको छ ।
उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले डा बस्यालमाथि हातपात गरेको हो ।
खास भएको के थियो ?
गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीया भवानी रास्कोटीलाई सुत्केरी व्यथाले च्यापेपछि अस्पताल लगिएको थियो। मंसिर ११ गते शल्यक्रिया गरी उनलाई सुत्केरी गराइएको थियो। उनले ५ किलोको बच्चा जन्माएकी थिइन्।
भवानीले त्यसअघि लुम्बिनी प्रादेशिक अस्पतालमा नियमित गर्भ परीक्षण गर्दै आएकी थिइन् । अस्पतालले मंसिर २२ गतेका लागि प्रसूती डेट दिएको थियो।
बच्चाको तौल धेरै भएकाले पाँच दिन पहिले लुम्बिनी प्रादेशिक अस्पतालमा चेकजाँच गराएका थिए। रिपोर्टपछि बच्चाले आमाको पेटभित्रै दिसा गरेकाले तत्काल शल्यक्रिया गर्न डाक्टरहरूले सुझाएका थिए।
लुम्बिनी अस्पतालले चिकित्सक र शय्या अभाव भएको भन्दै भवानीलाई अन्यत्र लैजान भनेको चन्द्रा सिंजापतिले बताइन्।
उनलाई सुत्केरी गराउन सोमबार आम्दा अस्पताल भर्ना गरिएको थियो । सोही दिन नै बिहान ११ः७ बजे शल्यक्रियामार्फत उनको ५ किलोग्रामको बच्चा निकालिएको थियो।
शल्यक्रिया गरी बच्चा निकालेपछि भवानीको स्वास्थ्य पनि सामान्य नै थियो। भोलिपल्ट (हिजो) बिहान भवानीलाई शय्याबाट उठाउने क्रममा अचानक चक्कर लागेर ढलेपछी उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
भवानीको मृत्यु भएपछि अस्पताल प्रशासनले शव वाहन बोलाएर उनको शव गाडीमा राखिदिएको आफन्तको आरोप छ । त्यसपछि उनीहरु आक्रोशित भइ तोडफोडमा उत्रिएका थिए। सुत्केरीपछि सामान्य अवस्थामा रहेको भवानीको मृत्यु के कारणले भएको हो भन्दै आफन्तहरुले खोजि गरेका छन्।
चिकित्सक कुट्ने ७ जना पक्राउ
डा. बस्यालमाथि हातपात गर्ने जना पक्राउ परेका छन् ।
सुत्केरी महिलाको मृत्यु घटनाबारे बिहान २ बजे अस्पतालमा प्रशासन र प्रहरीले पीडित पक्षसँग संयुक्त छलफल गरेको थियो।
छलफलका क्रममा पीडित पक्षका केही व्यक्तिहरूले मेसु बस्यालमाथि कुटपिट गरेका थिए। उनीहरूको आक्रमणबाट बस्यालको टाउको र छातीमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ। हातपात भएका उनी आईसियुमा उपचाररत छन् ।
हाल डाक्टर बस्याल खतरामुक्त अवस्थामा रहेको अस्पतालले जनाएको छ ।