काठमाडौं, १२ मंसिर । प्राचिन प्राकृतिक चिकित्सा तथा साउण्ड हिलिंग ब्लिस स्टुडियोले एक हजार ४ सय चारजनालाई निःशुल्क ध्वनी चिकित्सा सेवा प्रदान गरेको छ ।
शनिवारदेखि ३ दिनसम्म राजधानीको प्रज्ञा भवनमा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय आरोग्य प्रदर्शनीमा अवलोकनका लागि आएका मानिसले निःशुल्क सेवा लिएका हुन् । प्रदर्शनीमा स्टल राखेको स्टुडियोले १३ जना ध्वनी चिकित्सकहरु मार्फत उपचार सेवा दिएको स्टुडियोका सञ्चालक एवं ध्वनी चिकित्साका विज्ञ राजाराम पाण्डेले स्वास्थ्य डायरीलाई जानकारी दिए ।
आयुर्वेद सम्मेलन र आरोग्य प्रदर्शनीको उद्घाटन गर्न आएका सञ्चारमन्त्री रेखा शर्मा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत लगायत नेपाल, भारत र विभिन्न देशबाट आएका आयुर्वेद क्षेत्रका व्यक्तिले पनि ध्वनी चिकित्साका बारेमा जानकारी लिएको पाण्डेले बताए ।
पाण्डे विगत ३३ वर्षदेखि मन्त्र उपचार र ध्वनी चिकित्सामा संलग्न छन् । विश्वको विभिन्न देशमा गएर ध्वनी चिकित्साको प्रवर्धन र प्रचार गरिरहेकका पाण्डे विदेशमा यस उपचार पद्धतिको उच्च माग भएको बताउँछन् । ‘नेपालमा पनि विस्तारै यसको बारेमा जनचेतना बढेको छ तथापी विदेशमा भने यसको उच्च माग छ ।’ उनले भने ।
पाण्डेका अनुसार ध्वनी चिकित्सा मन्त्र चिकित्साकै एउटा स्वरुप हो । ध्वनी चिकित्सामा शरीरका विभिन्न सात शक्ति केन्द्रमा ध्वनी दिएर उपचार गरिन्छ । ठमेलको छायाँ सेन्टरमा रहेको प्राचिन प्राकृतिक चिकित्सा तथा साउण्ड हिलिंग ब्लिस स्टुडियोमार्फत पाण्डेले ध्वनी उपचार पद्धति सञ्चालन गरिरहेका छन् ।