काठमाडौँ, ११ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमिल्सना चालिसेको छोराको अध्ययन खर्च व्यहोर्ने भएका छन् ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा फैलिएको कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं ९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा निःशुल्क पढाइदिने घोषणा गरेका हुन् ।
वि.संं २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनको मात्र थिए । अहिले तीन वर्ष नाघेसँगै मन्त्री बस्नेतले सोमबार काठमाडौँको टोखा नगरपालिका वडा नं ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका हुन् । मन्त्री बस्नेतले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।
रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताए । मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने जनाए । उनले कोरोनाको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर ल्याउन नसक्दा आफूले चीनबाट ल्याएर निःशुल्क बाँडेको समेत उनले स्मरण गरे ।
मृतकका पति विमल चालिसेले कोरोनाबाट आफ्नो श्रीमतिको ज्यान जाँदा मन्त्री बस्नेतले छोराको पढाईको जिम्मा लिएर मानवीय सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।