काठमाडौँ, १० मंसिर । डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन्। आइतबार एक विज्ञप्ती जारी गर्दै डा. केसीले स्वास्थ्यमन्त्री बस्नेत पदमा बस्न लायक नरहेको दाबी गरेका हुन् ।
शनिबार एक कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले आफूमाथि मेडिकल गिरोहबाट सञ्चालित रहेको लाञ्छना लगाएको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा डा. केसीका आन्दोलनमा सहभागी हुने चिकित्सक र कर्मचारीलाई कारबाही गर्ने धम्कीसमेत मन्त्री बस्नेतले दिएका थिए।
डा. केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्यमन्त्रीको हैसियतले यी चुनौतीहरूको सम्वोधन गर्नु परम् कर्तव्य बन्थ्यो, तर मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐनविपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो। यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाफ हो ।’
साथै स्वास्थ्यमन्त्री बस्नेत पद सम्हलेदेखि नै मर्यादाविपरीतका क्रियाकलाप गर्दै आइरहेको बताउँदै डा. केसीले नर्सिङ तथा स्वास्थ्यसम्बन्धी विषयमा जनमानसमा गलत धारणा स्थापित गर्न मन्त्रीले माफियाको तर्फबाट नयाँ प्रयास गरेको समेत जिकिर गरेका छन् ।
यस्तै डा। केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रको कुनै पनि ज्ञान नभएको व्यक्तिलाई जिम्मेवारी दिएको भन्दै आलोचना समेत गरेका छन् ।
उनले विज्ञप्तीमा भनेका छन्, ‘ठूलामुखे गैरजिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवा, स्वास्थ्य मन्त्रालयजस्तो संवेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दै छन् । यो राजनीतिक तथा सामाजिक अपराध हो।’