काठमाडौँ, १० मंसिर । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आजदेखि सुरु भएको छ ।
बबरमहलस्थित कार्की वेङ्क्वेटमा दुईदिन चल्ने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री मन्त्री मोहनबहादुर बस्नेतले गर्दैछन् । सम्मेलनमा स्वास्थ्यका विभिन्न ७ विषयमा छलफल हुने बताइएको छ ।
जसमा दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, प्रतिजैविक प्रतिरोध औषधीको उचित प्रयोग तथा समान सेवाका लागि स्वास्थ्य प्रणाली जस्ता मुद्दाबारे छलफल हुने बताइएको छ ।
कार्यक्रममा प्यानलका बहसहरुमा गगन कुमार थापा, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल तथा मन्त्रलयका उच्च अधिकारीहरु, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अन्जनी कुमार झा, डा भगवान कोइराला, डा अर्जुन कार्की, अर्थ मन्त्रालयका प्रतिनिधी, बिभिन्न प्रदेशका स्वास्थ्य सचिवले बहस गर्ने छन्।
त्यसैगरी स्थानिय निकायबाट पालिकाका प्रतिनिधी मेयरहरु, प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज एसोसिएसनका अध्यक्ष, निजि अस्पताल संचालकहरुको छाता संगठन अफिनका अध्यक्ष, औषधी उत्पादक संघका अध्यक्ष, केमसानका अध्यक्ष लगायत, स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षाका सरोकार रख्ने विश्व स्वास्थ्य संगठन सहित दातृ निकायका प्रतिनिधी समेत रहने छन्।
यसअघि असोजका लागि तय भएको यो सम्मेलन चिकित्सकमाथि आक्रमण र दुर्व्यहारका घटना बढेपछि संघले तत्कालका लागि स्थगित गरिएको थियो ।