काठमाडौं, १० मंसिर । नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी शनिवारबाट राजधानीमा सुरु भएको छ ।
आयुर्वेद मेडिकल एण्ड रिसर्च फाउण्डेशनले आयोजना गरेको सम्मेलनमा देशविदेशका आयुर्वेदिक चिकित्सक, विज्ञ र संस्थाहरुको सहभागिता रहेको छ । सम्मेलन अन्तर्गतको आरोग्य प्रदर्शनीमा आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न उपचार विधा र विधिहरुको स्टल राखिएको छ ।
कृत्रिम बुद्धिमताको युगमा आयुर्वेद जीवनशैली प्राप्त गर्नु भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो । कार्यक्रममा विभिन्न वैज्ञानिक प्रस्तुति समेटिएको छ । प्राचिनकाल देखि नै नेपालको सभ्यता आयुर्वेदिक जीवनशैलीमा आधारित छ । तर, पछिल्लो समय आधुनिक चिकित्साको प्रयोगका नाममा प्रतिअसर नभएको र जीवनदायिनी आयुर्वेदलाई अंगिकार गर्ने जमात सानो छ । यसै सन्दर्भमा आयुर्वेदको औचित्य र अस्तित्वलाई वृद्धि गर्न सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ ।
संस्थाले यसअघि पनि गत बैशाखमा उपराष्ट्रपतिबाट आयुर्वेदका विज्ञहरुलाई सम्मान गर्ने कार्यक्रमको आयोजना गरेको थियो ।
सम्मेलन तथा आरोग्य प्रदर्शनी सोमबारसम्म चल्नेछ ।