काठमाडौँ, १० मंसिर । चिया पिउने बानी हाम्रो परिवार तथा समाजमा अघोषित संस्कारको रुपमा चलिआएको देखिन्छ । हामीमध्ये धेरैजसो चिया पिउने बानीबाट अभ्यस्त छौँ । चियाबिना धेरै कार्य अधुरो र अपुरो लाग्ने नेपालीको घरमा चिया धेरैजसो बन्ने पेय पदार्थ हो । र, यो परिवारका लगभग सबै सदस्य चिया पिउँछन् ।
हाम्रो यस्तो बानी बच्चाले पनि सिको गर्छन् । सबै परिवार सँगै बसेर चियाको चुस्की लिँदा बच्चा पनि उत्सुक हुन्छन् । कहिलेकाहीँ उनीहरूलाई पनि कपमा हालेर चिया दिन्छौँ । तर यसो गरेर हामीले सही गरिरहेका छौँ त ? चिया बालबालिकाका लागि कत्तिको उपयोगी छ त ?
के भन्छ अध्ययन ?
चियासम्बन्धि गरिएको एक अध्ययनले बालबालिकाका लागि यसको प्रयोग हानिकारक हुने तथ्य निकालेको छ । चिया पत्तीमा क्याफिन हुन्छ जसले दिमाग र स्नायु प्रणालीमा हलचल पैदा गर्छ । त्यसैले बच्चालाई चिया दिनु हुँदैन । बच्चा कम्तीमा १२ वर्षको हुञ्जेलसम्म चिया दिनु नहुने अध्ययनको निस्कर्ष छ ।
चियाका राम्रा–नराम्रा दुवै पक्ष छन् तर पनि १२ वर्षभन्दा कम उमेरका बच्चालाई चिया दिनु हुँदैन । यद्यपि बच्चालाई चिया दिन नहुने कारण यस प्रकारका छन्
१. क्याफिनको प्रत्यक्ष खुराक दिमाग र स्नायु प्रणालीलाई अति सक्रिय पारिदिन्छ । जसले बच्चाको निद्राको ढाँचामा गडबडी आउन सक्छ । त्यसैले बिहान उठ्दा बच्चाले धेरै थाकेको महशुस गर्छन् ।
२. सधैँ क्याफिनको सेवन गर्दा यसको बानी पर्छ । यो छुटाउन निकै मुस्किल हुन्छ ।
३. क्याफिन डाययुरेटिक हुन्छ अर्थात् यसले गर्दा धेरै पिसाब लाग्छ । बारम्बार पिसाब लाग्दा बच्चामा डिहाइड्रेसन हुनसक्छ ।
बालबालिकालाई चियाको विकल्पका रुपमा दूध पिलाउन सक्ने विज्ञहरुले बताएका छन् । स्वादका लागि दूधमा तुलसी, अलैँची, दालचिनी, अदुवा, पाउडर नट्स आदि मिसाएर दिन सकिन्छ । बच्चा अलि ठुला छन् भने दूधमा खजुर र किसमिस पनि मिसाएर दिन सकिने उनीहरु बताउँछन् ।