काठमाडौं: अटिजम भएका बालबालिकाको क्षेत्रमा कार्यरत सबिता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ को लागि छनौट भएकी छन्। भारतीय मानवअधिकार परिषद्ले उनलाई उक्त पुरस्कारको लागि छनौट गरेको हो।
डिसेम्बर १० मा पर्ने संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा १३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार शिखर सम्मेलनको अवसरमा भारतको नयाँ दिल्लीमा उप्रेतीलाई उक्त पुरस्कार प्रदान गरिने परिषद्ले विज्ञप्तिमार्फत जनाएको छ ।
उप्रेती १३ वर्षदेखि अटिजम भएका बालबालिकाको लागि विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र स्थापना गरी अटिजम बालबालिकाहरूको सेवामा क्रियाशील छिन् । उक्त संस्थाले अहिले अटिजम भएका ६० जना बालबालिका तथा किशोर किशोरीहरूलाई विशेष शिक्षा र थेरापी सेवाहरू प्रदान गर्दै आएको उनले बताइन् ।