

जनकपूर, ८ मंसिर । जनकपूर न्यूरो अस्पतालमा डिस्चार्ज गर्नेबित्तिकै एक बालकको मृत्यु भएको छ ।
बालकको मृत्युपछि रुघाखोकी तथा बान्ता उपचारका लागि ल्याइएका बालकको उपचारमा चिकित्सकले लापरवाही गरेको हुनसक्ने परिवारले आरोप लगाएका छन् । यससम्बनिध उचित छानबिन हुनुपर्ने भन्दै आफन्तले शव उठाउन समेत इन्कार गरेका छन् ।
खास भएको के थियो ?
धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोल बस्ने ४ वर्षीय जेम्स कालिकोटेले एक्कासी बान्ता गरेका उनमा रुघाखोकीको समस्या पनि देखिएको थियो । उपचारका लागि बालककलार्य उनका परिवारले बाल रोग विशेषज्ञ डा. शशिभूषण ठाकुरको क्लिनिकमा पुर्याए । डा. ठाकुरले आफू कार्यरत न्यूरो हस्पिटलमा उपचार गर्न रेफर गरेका थिए ।
बालकलाई बुधबार नै हस्पिटलमा भर्ना गरिएको थियो । निको भयो भनेर हस्पिटलले बिहीबार बिहान १० बजेतिर डिस्चार्ज गरेको थियो । निस्किने बेला अचानक बालकले जोडले श्वास फालेर सिकिस्त भएपछि पुनः उपचार गर्दा तुरुन्तै मृत्यु भएको उपचारका लागि कुरुवा आएका छिमेकी मनिषकुमार कर्णले बताए ।
‘चिकित्सकले पिसाबमा इन्फेक्सन छ भनेका थियो । ठीक भइहाल्छ भनेर डिस्चार्ज गरिदियो । डिस्चार्ज भएर तल गेटमा आइसकेपछि बालक एकैपटक लामो सास फालेर बेहोस भए । अनि उपचार थालिएपछि मृत्यु भयो’, मनिषले भने, ‘एक्कासी कसरी यस्तो भयो । उपचारमै कुनै लापरबाही गरिएको हुनुपर्छ ।’
यता डा. ठाकुर भने उपचारमा कुनै लापरवाही नभएको दाबी गर्छन् । ‘बालकलाई पिसाबमा इन्फेक्सन भएको र उपचारबाट सामान्य भएपछि परिवारजनकै आग्रहमा डिस्चार्ज गरेपछि अचानक मृत्यु भयो’, उनले भने, ‘यसमा उपचारको लापरवाही भन्न मिल्दैन । बरु बालकमा अरु कुनै स्वास्थ्य समस्या रहेको हुन सक्छ ।’
स्वीकृतीबिनै सञ्चालन भइराखेको अस्पताल
२०७८ फागुन दोस्रो सातादेखि सञ्चालन भएको अस्पतालले स्वास्थ्य सेवा विभागबाट अनुमति नै नलिएको पाइएको छ । यो अस्पताल शेयरधनी डा. विजय राउतले बिना स्वीकृति सञ्चालन गरिरहेका छन् । अस्पताल अनुगमन तथा सुद्दढीकरण शाखा प्रमुख नरेन्द्र खनालका अनुसार अस्पतालले दर्ताका लागि निवेदन दिएको तर मापदण्ड नपुगेका कारण सुचीकृत हुन सकेको छैन ।
२९ साउनमा स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल, मधेश प्रदेश सरकारको स्वास्थ्य महाशाखा र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको टोलीले न्यूरो हस्पिटलको अनुगमन गरेको थियो ।
स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. अनुप बास्तोलाको नेतृत्वमा भएको सो अनुगमनले तुरुन्त मापदण्ड पूरा गरी स्वीकृति लिन अथवा विशिष्टिकृत सेवा हटाएर जेनरल सेवा सञ्चालनको अनुमति अथवा हस्पिटल नै बन्द गर्न निर्देशन दिएको थियो । अस्पतालले मापदण्ड पूरा नगरेकाले विभागले अनुमति दिएको छैन ।
यसअघि पनि यस अस्पतालको सेवा तथा शुल्क सम्बन्मा धेरै गुनासो आएपनि सम्बन्धित निकाय हालसम्म अस्पताललाई कारवाही गर्ने सम्बन्धमा मौन देखिएको छ ।