बाग्लुङ, ६ मंसिर । जिल्लाको दुईवटा स्थानमा भएको वृहत् निःशुल्क मुटुरोग शिविर सम्पन्न भएको छ । तीनदिन सञ्चालित सो शिविरबाट १ हजार ३०० बढीले सेवा लिएका छन् ।
रोटरी क्लव अफ पाटन र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको संयुक्त आयोजनामा म्पन्न सो शिविरमा अधिकांश स्कुले बालबालिका र केही मुटुरोगीहरुको जाँच तथा उपचार गरिएको थियो ।
शिविरको नेतृत्व गरेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले तीन दिनको अवधीमा १ हजार १२० जना बालबालिकाहरुको भिडियो मुटु परीक्षण र करीब २०० जनाको मुटु रोगीहरुको मुटु जाँच तथा उपचार गरिएको बताए ।
शिविरमा मुटुरोग सर्जन तथा विशेषज्ञद्धय डा प्रेमराज बैद्य, डा उर्मिला शाक्यले सेवा दिएको शिविरबाट १० जना भन्दा बढी नयाँ बाल मुटुरोगीको निदान भएको डा. रेग्मीले जानकारी दिए।
मुटु परीक्षण गरिएकामध्ये ३ जनाको मुटुको शल्यक्रिया गर्नु पर्ने देखिएको र ती बालबालिकाहरुलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको उनले जानकारी दिए । ती बालबालिकाको बाँकी उपचार निःशुल्क हुने उनले बताए ।