काठमाडौँ, ५ मंसिर । नेपालमा पहिलो पटक मुटुको दुर्लभ मानिने ‘निकाइडो’ शल्यक्रिया सफल भएको छ ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रिया डा. रविन्द्रभक्त तिमला नेतृत्वको टोलीले स्याङ्जाकी ७ वर्षीया बालिकाको ‘निकाइडो’ शल्यक्रिया सम्पन्न गरेको हो । उक्त शल्यक्रिया २६ असोजमा सम्पन्न भएको डा तिमलाले बताए ।
उनका अनुसार ९ घण्टा लगाएर सम्पन्न गरिएको सो शल्यक्रियापछि बालिकालाई २३ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो । अहिले वार्डमा सारिएकी बालिकाको स्वास्थ्य अवस्था सामान्य छ । ती बालिकामा जन्मजात मुटु रोग रहेका कारण शल्यक्रिया गर्नुपरेको चिकित्सकहरुको भनाइ छ । शल्यक्रियामा डा. तिमला नेतृत्वमा डा. मारिषा अर्याल, डा. सुजन बोहरा र एनेस्थेसियामा डा। स्मृति महाजुलगायतको टोली सहभागी थियो ।
चिकित्सकिय भाषामा बालिकामा ट्र्रान्सपोजिसन अफ ग्रेट आर्टिरिज, भेन्ट्र्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसीस भनिने मुटुको समस्या थियो। यस्तो समस्यामा मुटुको देब्रे खण्डबाट निस्किनु पर्ने मूल धमनी (एओर्टा) दाहिने खण्डबाट निस्केको र दाहिने खण्डबाट निस्किनु पर्ने पल्मोनरी आर्टरी देब्रे खण्डबाट निस्केर साँगुरिनुका साथै मुटुको तल्लो भागको दुई वटा कोठाको बीचमा ठूलो प्वाल भेन्ट्र्रीकुलर सेप्टल डिफेक्ट थियो। यस प्रकारको समस्या बच्चा जन्मदाँ नै बनावटमा आएको समस्याका कारणले हुने गर्छ ।
उक्त शल्यक्रिया गर्नका लागि मुटु झण्डै ४ घण्टा बन्द गर्नुपरेको र पूरा शल्यक्रिया गर्नका ९ घण्टा डा. तिमालले जनाए । जन्मजात रुपमा देखिएको सो समस्या बालिकामा ३ वर्षअघि नै पत्ता लागेको थियो ।
सो समय परिवारले नमानेको र चिकित्सकले समेत आँट नगरेकाले शल्यक्रिया हुन सकेको थिएन । बालिकाको शल्यक्रिया सफल भएपछि उनका अभिभावक समेत खुशी छन् ।