काठमाडौँ, ५ मंसिर । बाहिरी पर्यावरणीय पक्ष र मानवीय स्वास्थ्यबीच अत्यन्त घनिष्ठ सम्बन्ध रहेको हुन्छ । जसकारण पनि परिवर्तित मौसमसंगै व्यक्तिमा पनि विभिन्न स्वास्थ्य समस्या एवम् जटिलताहरु देखापर्दछ ।
हाल बाहिरी वातावरणमा यथावत् नै रहेको चिसोका कारण ब्यक्तिमा रुघाखोकी, दम, भाइरल ज्वरो, शरीरका विभिन्न भागहरु फुल्लिने तथा सुन्निने, हातगोडा फुट्ने, चिसो लाग्ने र यसैका कारण विभिन्न किसिमका फ्लुहरु समेत देखिन सक्छ । यस्तै, तत्कालको सन्दर्भमा हामी कोरोना कालमै समेत रहेको अवस्थामा हामी आफ्नो स्वास्थ्यप्रति अझ बढी सचेत रहनुपर्दछ ।
बाहिरी वातावरणसंग हाम्रो शरीरको तापक्रम नमिलेको खण्डमा ब्यक्तिमा यस्ता समस्याहरु देखा पर्दछन् । तसर्थ यस्ता समस्या देखा नपरोस् भन्नका लागि हामीले आवश्यक विभन्न सजगताहरु अपनाउनु पर्दछ ।
जाडोयाममा चिसोबाट बच्नको निमित्त एसी, हिटर तथा घाम ताप्ने कुरा त छदैछ । यसबाहेक पनि हामीले जाडो याममा चिसो नलागोस् भन्नका निमित्त विशेषगरी आफ्नो क्रियाकलाप तथा घरेलु उपायहरु अपनाउनु उत्तम मानिन्छ ।
चिसो लाग्न तथा यसबाट लाग्ने रोगहरुबाट जोगिन ध्यान पुर्याउनु पर्ने पक्षहरु :
कपडा
जाडो महिनामा बच्नको निमित्त सर्वप्रथम हामीले आफ्नो लगाउने कपडामा ध्यान दिनु पर्दछ । यस समयमा हामीले हाम्रो शरीर गुम्सिने कपडालाई भन्दा पनि शरीर न्यानो राख्ने कपडालाई बढि प्राथमिकता दिनु पर्दछ ।
त्यसैले यसको निम्ति हामीले सकेसम्म शरीरको भित्री भागमा प्राकृतिक सुतीको कपडा लगाई बाहिर न्यायो दिने अन्य कपडाहरु लगाउन सकिन्छ । जाडोयाममा हामीले विशेषगरी शरीरका प्रत्येक भाग ढाकिने गरी कपडाहरुको प्रयोग गर्नुपर्दछ ।
खाना
माथि उल्लेख गरेजस्तै हाम्रो शरीरको तापक्रम र बाहिरी तापक्रम नमिलेको खण्डमा हामीलाई चिसाले सताउँछ । तुलनात्मक रुपमा हामीलाई जाडोयाममा बढि भोक लाग्ने र खाना रुच्ने हुन्छ ।
तसर्थ चिसोबाट बच्न प्रयोग गरिने अर्को उपयुक्त तरीका भनेको हामीले खाने ताजा तथा स्वच्छ खाना हो । हामीले शरीरलाई भित्रदेखि नै न्यायो बनाउनको निम्ति पनि खानाको प्रयोग गर्न सकिन्छ। शरीर न्यायो बनाइ राख्नको निमित्त हामीले चियाको सट्टामा ग्रीन टि, दुध, सुप, तातो पानी तथा मनतातो खानाहरुको पनि प्रयोग गर्नुपर्दछ।
यसका साथै आफ्नो खानामा शरीरलाई न्यायो राखिराख्न मद्दत गर्ने मेथी,मरिच, जाइफल, जिरा, अदुवा र लसुनजस्ता घरेलु खानाहरुको समावेश गर्नु उत्तम रहन्छ ।
हावाको थोरै आयात हुने ठाउँमा धेरै ब्यक्ति नबस्ने
जाडो महिनामा चिसोबाट जोगिनको निम्ति भनेर एकै ठाउँमा धेरैजना ब्यक्तिहरु कोचिएर पनि बस्ने गरेको पाइन्छ । तर, यो विल्कुल गलत हो । जाडोको समयमा होस् वा अन्य हाम्रो शरीरलाई सदैव समान रुपमा हावा तथा अक्सिजनको आवश्यक पर्दछ । सानो ठाउँ तर, धेरै ब्यक्तिहरु एकै ठाउँमा कोचिएर बस्दा यसले शरीरलाई हावाको प्रवाहमा अवरोध ल्याउँछ । जसकारण ब्यक्तिहरुमा निस्सासिने र गुम्सिने समस्याहरु देखा पर्छन् । अझ, दम रोग भएका ब्यक्तिहरुको निम्ति भने यो शतप्रतिशत हानिकारक नै हुन जान्छ ।
शारीरिक रुपमा सक्रिय रहने
शरीर तातो बनाइ राख्नको निमित्त हामी शारीरिक रुपमा सक्रिय रहिरहनु पर्दछ । शरीर निस्क्रिय रहेको अवस्थामा शरीर नतातिने भएकोले हामीलाई अझ बढि चिसोको अनुभव हुन सक्छ । त्यसैले हामीले जाडोमा आफ्नो शारीरिक सक्रियता बढाएर पनि जाडोबाट जोगिन सकिन्छ । यसको निमित्त हामीले विभिन्न किसिमका योगा, शारीरिक व्यायाम, कसरत तथा खेलकुदहरुमा पनि संलग्न हुन सकिन्छ ।
घाम आउने तथा न्यायो ठाउँमा बस्ने
जाडोयाममा बढि चिसाको कारण कतिपय ठाउँ चिसो तथा ओसिलो हुने हुन्छ । त्यसैले हामीले त्यस्ता चिसो आउने ठाउँमा बस्नु हुदैन । यसका लागि हामीले घामको प्रकाश छिर्ने तथा उज्यालो आउने ठाउँमा बस्नु पर्दछ । यसका साथै यस समयमा सकेसम्म हिटर, एसी तथा भेन्टिलेटरको उपलब्ध भएको घरलाई बस्नको निमित्त उपयुक्त मानिन्छ ।
हटब्यागको प्रयोग
चिसो ब्यक्तिहरुको शरीरका विभिन्न भागहरु फुल्लिने र सुन्निने हुन्छ । यसको लागि हामीले हटब्यागको प्रयोग गर्न सकिन्छ । सुन्निएको भागहरुमा हटब्यागले सेक्दा सुन्निनमा कमी आई यसले शरीरलाई न्यायो पनि बनाउन मद्दत गर्दछ ।
माथि उल्लेखित उपायहरु अपनाउदा अपनाउदै पनि कतिपयमा चिसोका कारण विभिन्न संक्रमणहरु देखा पर्न सक्छन् । यसका साथै कोहि ब्यक्तिहरुमा भने शरीरको विभिन्न भागहरु नचल्ने, शरीरको रंग परिवर्तन हुदै जाने, शरीर निलो भएर जाने र अत्यन्त सुन्निएर आउने जस्ता परिवर्तनहरु देखा पर्दछ । त्यस्तो समयमा भने त्यस्ता ब्यक्तिहरुले तुरुन्तै सम्बन्धित चिकित्सकको सल्लाह लिनु पर्दछ ।