काठमाडौँ, २४ कात्तिक । कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण यतिबेला त्यहाँका अधिकांश व्यक्तिहरु त्रिपालमुनि बस्न बाध्य छन् । भूकम्पले घरसंगै शौच तथा खानेपानिका मुहान तथा पाइपसम्ममा क्षति पुर्याएका छ भने भूकम्पका कारण अझैपछि थिचिएका पशुचौपायाहरु निकाल्न नसक्दा उनीहरुमा आवाससंगसंगै स्वास्थ्यको जोखिम समेत बढेको छ ।
सरकारले तत्कालका लागि राहतको व्यवस्था गरेपनि महामारी फैलन नदिनका लागि भने स्थानिय आफैँ सजग हुनुपर्ने देखिन्छ । अन्यथा विपद्संगै यसले महामारी फैलाउने सम्भावना उत्तिकै रहन्छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खानेपानी तथा सरफाईमा विशेष ध्यान दिन आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार महामारी फैलन नदिनका लागि निम्न पक्षहरुमा ध्यान दिनु पर्दछ :
–खानेपानी तथा सरसफाईमा विशेष ध्यान दिऔं
–क्लोरीन झोल वा ट्याबलेट हालेर वा उमालेर पानीलाई शुद्धिकरण गरेको पानी मात्र पिऔं।
–शुद्धिकरण गरेको पानी सधैं सफा भाँडामा छोपेर राखौं ।
–पानी निकाल्ने भाँडा सधैं सफा राखौं।
–सडेगलेका, बासी र झिंगा भन्केका खाने कुराहरु नखाऔं।
–काँक्रो, गाँजर, फलफूल जस्ता काँचै खान मिल्ने खानेकुरा सधैं सफा पानीले धोएर खाने गरौं।
–खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बच्चाको दिसा धोएपछि सधैं साबुनपानीले मिचिमिचि हात धोऔं।
– जथाभावी दिसा पिसाब नगरौं र नगराऔं।
– चर्पीमा मात्र दिसा पिसाब गर्ने गरौं र बच्चाको दिसालाई पनि चर्पीमा नै बिसर्जन गरौं।
– फोहरलाई सधैं निश्चित ठाउँमा सहि तरीकाले व्यवस्थापन गरौं।
– खोक्दा, हाच्छ्यूँ गर्दा सफा कपडाले नाक मुख छोप्ने गरौं।
– झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघा खोकी तथा टाईफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।