चितवन, १९ कार्तिक । चितवनमा एकैदिन २२ जनामा डेंगु संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनको शुक्रवारको तथ्याङ्क अनुसार गत २४ घण्टामा थप २२ जनामा डेंगु संक्रमण देखिएको हो । संक्रमित हुने मध्ये ३ जना चितवन बाहिरका छन् ।
यो सँगै चालू आर्थिक वर्षको साउन १ गतेदेखि हालसम्म जिल्लामा १७ हजार ४६ जनामा परीक्षण गरिएको मध्ये १ हजार २ सय ४९ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय जनाएको छ । परीक्षण गरिएको कुल सङ्ख्याको ७ दशमलव ३ प्रतिशतमा संक्रमण देखिएको हो ।
यसरी डेङ्गु संक्रमित हुनेमा महिलाभन्दा पुरूष बढी छन् । १ हजार २ सय ४९ जना डेंगु संक्रमित मध्ये ६ सय ४० जना पुरूष र ६ सय ९ जना महिला रहेका छन् । यसरी संक्रमित हुनेमा चितवनसहित अन्य जिल्लाका समेत छन् । त्यस्तै, केहीको भने ठेगाना खुल्न सकेको छैन ।
जिल्लामा परीक्षण गरिएको मध्ये संक्रमित हुनेमा ८ सय ७० जना चितवन जिल्लाका छन् । २ सय ५६ जना अन्य जिल्लाका रहेका छन् । त्यस्तै, ठेगाना नखुलेका १ सय २३ जना छन् । संक्रमित मध्ये अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कुन स्थानीयतहमा कति जनामा संक्रमण देखियो ?
साउनदेखि हालसम्म जिल्लाको भरतपुर महानगरपालिकामा ४ सय ६८ जनामा डेङ्गु संक्रमण देखिएको छ । त्यस्तै, रत्ननगर नगरपालिकामा १ सय ४९ जनामा, राप्ती नगरपालिकामा ५३ जनामा, खैरहनी नगरपालिकामा १ सय २९ जनामा, माडी नगरपालिकामा १५ जनामा र कालिका नगरपालिकामा १५ जनामा संक्रमण देखिएको छ । त्यस्तै, जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा ४१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कसरी लाग्छ, डेङ्गु रोग अनि कसरी बच्ने ?
डेङ्गु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । खासगरी स्त्रीजातिका एडिज लामखुट्टेको टोकाइबाट यो रोग मानिसमा सर्ने गर्छ । डेङ्गुभएकालाई टोकेर अन्य स्वस्थ मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । लामखुट्टेको टोकाइबाट बच्नु नै संक्रमणबाट जोगिने उत्तम उपाय हो ।