चितवन, १७ कात्तिक । चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा मंसिर १४ गतेसम्म फोक्सोको निःशुल्क परीक्षण र परामर्श सेवा सुरू गरिएको छ ।
मेडिकल कलेजले आफ्नो भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूट मार्फत एक महिनासम्म निःशुल्क ओपीडी सेवाको व्यवस्था गरेको हो ।
निःशुल्क परीक्षण सेवा यही कात्तिक १५ गतेदेखि मंसिर १४ गतेसम्म चल्ने इन्स्टिच्यूटले जनाएको छ । नोभेम्बर अर्थात् फोक्सोको क्यान्सर सचेतना महिनालाई लक्षित गर्दै निःशुल्क परीक्षण एवम् केही जाँचमा ५० प्रतिशत छुटको व्यवस्था गरेको इन्स्टिच्यूटले जनाएको छ ।
फोक्सो सम्बन्धी जाँच ब्रोंकोस्कोपी, छातीको सिटी स्क्यान र एक्सरे जाँच गर्नुपरेमा ५० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ । त्यस्तै, कार्डियो थोरेसिक एवम् भ्यास्कुलर सर्जरी (सिटीभिएस) सर्जनद्वारा फोक्सो सम्बन्धी शल्यक्रिया गर्नु परेमा समेत ५० प्रतिशत छुटको व्यवस्था गरेको इन्स्टिच्यूटले जनाएको छ ।
अस्पतालमा सरकारी दररेटमा नै क्यान्सरको परीक्षण तथा उपचार सेवा उपलब्ध रहेको छ । यसका साथै नेपाल सरकार र प्रदेश सरकारले क्यान्सर उपचारका लागि दिने एक लाख ५० हजारसम्मको छुट पनि क्यान्सरका बिरामीले पाउने इन्स्टिच्यूटले जनाएको छ ।
धूम्रपान सेवनका गर्ने मानिसहरूमा फोक्सोको क्यान्सर हुने जोखिम धेरै हुन्छ । त्यसो त धूम्रपान नगर्नेलाई फोक्सोको क्यान्सर नहुने भन्ने हुँदैन । वंशाणुगत कारण, वायु प्रदूषण, कमजोर रोग प्रतिरोधात्मक क्षमता, फोक्सो सम्बन्धी दीर्घकालीन रोग लगायत कारण पनि फोक्सोको क्यान्सर हुने गर्छ । यस्ता कारकतत्त्वबाट जोगिने, फोक्सोको कुनै समस्या देखिएमा समयमै परीक्षण तथा उपचार गर्ने बानीको विकास गर्न सकेमा फोक्सोको क्यान्सर हुनबाट बच्न सकिन्छ ।
नोभेम्बर महिना विश्वभर फोक्सोको क्यान्सर सचेतना महिनाका रूपमा मनाइन्छ ।