काठमाडौँ, १५ कात्तिक । विराटनगरस्थित नोवेल मेडिकल कलेज शिक्षण अस्पताल प्रा. लि. ले नेपाल आईसीसी टी–२० विश्वकपमा छनोट भएमा राष्ट्रिय क्रिकेट टोलीलाई १५ लाख रुपैयाँ जनही पुरस्कार गर्ने घोषणा गरेको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भोगेन्द्र प्रसाद उपाध्यायले नेपाली क्रिक्रेट टोलीको हौसला बढाउँदै सो घोषणा गरेका हुन् । यस्तै, नेपालले विश्वकप जितेमा थप ५ लाख रुपैयाँ थप उनले विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौैंमा चलिरहेको ८ देश सम्मिलित छनोट प्रतियोगितामा नेपाल समूह चरणमा एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ । नेपालले बिहीबार समूह चरणको अन्तिम खेल ओमानसँग खेल्दैछ । यस्तै शुक्रबार हुने सेमिफाइनलमा जित हात पारे अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने टी–२० विश्वकपमा पुग्नेछ । नेपालले सन् २०१४ यता विश्वकप खेल्न सकेको छैन । यसपटक नेपाललाई टी–२० विश्वकप छनोट एशिया क्षेत्रको उपाधिको दाबेदारका रुपमा हेरिएको छ ।
फाइनल खेल आगामी आइतबार हुनेछ । प्रतियोगिताको फाइनलमा समेत विजय हात पारे नेपाली टोलीलाई थप ५ लाख प्रदान गरिने अस्पतालले जनाएको छ । कलेजका पूर्वअध्यक्ष तथा प्रबन्ध निर्देशक र हाल नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य डा। सुनिल कुमार शर्माको अगुवाईमा कलेजले नेपाली क्रिकेट खेलाडीलाई निःशुल्क तथा सुहलियत शुल्कमा उपचार सेवा समेत प्रदान गर्दै आएको छ ।