काठमाडौँ, १४ कात्तिक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) रुपन्देहीले भैरहवा भैरहवाको युर्निभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) का आन्दोलनरत विद्यार्थीको मागप्रति समर्थन जनाएको छ ।
संघका अध्यक्ष भरत अर्यालले सोमबार एक विज्ञप्ति जारी गर्दै युसिएमएसमा विगत लामो समयदेखि कलेज प्रशासनले विद्यार्थीमाथि गरेको व्यवहार र लापरवाहीप्रति अनेरास्ववियु रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । मेडिकल क्षेत्रजस्ता संवेदनशिल क्षेत्रका विद्यार्थीहरुको पढ्न पाउनुपर्ने अधिकारलाई कुन्ठित गर्दै संघको व्यक्तिगत स्वार्थका निमित्त विद्यार्थीलाई दमन गर्ने, धम्क्याउने तथा त्रास देखाउने कार्यको निन्दा गरेको छ ।
‘उच्च शिक्षा हासिल गरी सफल चिकित्सक बन्ने महान् लक्ष्य लिएर देशका विभिन्न स्थानबाट अध्ययनका लागि आउनुभएका विद्यार्थीहरुलाई अनावश्यक रुपमा विभिन्न बाहानामा असुली गर्ने, आवश्यकताभन्दा बढी आर्थिक भार पर्ने गरी विद्यार्थीहरुलाई विभिन्न कुरामा दबाब दिनेजस्ता कार्य अविलम्ब बन्द गरी विद्यार्थीले उठाएका जायज र शैक्षिक सुधारका मागलाई नियमित रुपमा कक्षा सञ्चालन गर्न कलेज प्रशासनसंग जोदार माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।
साथै संघले विद्यार्थीले उठाएका जायज मागलाई बेवास्ता गरेमा त्यसविरुद्व अनेरास्ववियु आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।