काठमाडौं, १४ कार्तिक । नेपालका औषधि उद्योगले आत्मनिरर्भरता तर्फ पाइला चालिरहेको भएपनि नेपालमा बजार ओगट्ने शीर्ष २० कम्पनीमध्ये ५५ प्रतिशत भारतीय कम्पनी रहेका छन् ।
पछिल्ला दशकहरुमा देशमा औषधि कम्पनी खुल्ने दर बढेपनि औषधिमा रहेको परनिर्भरता अपेक्षाकृत रुपमा घट्न सकेको छैन । आइक्यूभिया नामक सर्वेक्षण संस्थाको आंकडा अनुसार नेपालमा अघिल्लो आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक औषधि बिक्रि गर्ने २० कम्पनीमध्ये नेपाली कम्पनी ९ वटा रहेका छन् ।
नेशनल हेल्थकेयरको दवदवा कायमै
शीर्ष २० कम्पनीमध्ये पहिलो र दोश्रोमा भने नेपाली कम्पनी नै रहेका छन् । नेपालमा सबैभन्दा धेरै व्यापार गर्ने कम्पनीको शीर्ष स्थानमा यो वर्षपनि नेशनल हेल्थकेयर नै रहन सफल भएको छ । एन्टीवायोटिक, एक्युट, क्रोनिकमा हार्ट, डाइवेटिज, सिभियर पेन एवं लोकल एनेस्थेसीयासम्म बनाएर बेच्ने नेशनल हेल्थकेयरले अघिल्लो वर्ष ४ अर्ब ६१ करोडको औषधि बिक्रि गरेको छ । ११ वटा डिभिजन रहेको कम्पनीले अघिल्लो आर्थिक वर्षमा १४.२५ प्रतिशतको व्यापार वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८।७९ मा नेशनलले ४ अरब ३५ करोडको मात्र औषधि बिक्रि गरेको थियो । नेपाली औषधि बजारमा नेशनल हेल्थकेयरको कूल हिस्सा ८ प्रतिशत रहेको छ ।
दोश्रो बन्ने टक्करमा क्वेस्ट र एनपीएल
यस्तै दोश्रो शीर्ष कम्पनीमा क्वेस्ट फर्मास्युटिकल रहेको छ । डाइबेटिज, मुटु लगायत दीर्घरोगका औषधिमा केन्द्रित माइलोडको निर्माता क्वेस्टले अघिल्लो आर्थिक वर्षमा २ अरब ७२ करोडको औषधि बेचेको छ । अघिल्लो वर्षको तुलनामा २ करोडको मात्र व्यापार बढाएर ०.६३ प्रतिशतमात्रको व्यापार वृद्धि गरेपनि क्वेस्टसँग अर्को पुरानो कम्पनी नेपाल फर्मास्युटिकल्स ल्याब्रोटरी (एनपीएल)ले टक्कर दिएको छ । चौथो स्थानमा रहेको एनपीएलले अघिल्लो वर्षको व्यापारमा १३.३४ प्रतिशत वृद्धि गर्दै यो साल २ अरब ७२ करोडकै औषधि बचेको छ । यी दुवै कम्पनीको नेपाली बजारमा ५ प्रतिशतको हिस्सा रहेको छ ।
त्यस्तै तेश्रो स्थानमा रहेको भारतीय कम्पनी अल्केमले आफ्नो व्यापारलाई १.२५ प्रतिशतले बढाउँदै २ अरब ६६ करोडको व्यापार गरेको छ ।
नेपालको कूल औषधि बजारमा शीर्ष ९ कम्पनीको हिस्सा
‘डिल बोनस’को महारथि आर्याले गुमायो २.६६ प्रतिशत व्यापार
पाँचौमा भने आफुलाई ‘फास्टेट ग्रोइङ्’ कम्पनीका रुपमा चिनाउने विवादित नेपाली कम्पनी आर्या फर्मास्युटिकल्स रहेको छ । आर्थिक वर्ष २०७८।७९ मा २ अरब ४६ करोडको औषधि बनाएको ‘डिल बोनस’मा आधारित बजारीकरण गर्ने आर्याले ७९।८० मा भने २.६६ प्रतिशत व्यापार गुमाएको छ । आर्याले यसवर्ष २ अरब ४० करोडको मात्र व्यापार गरेको छ । आर्या कम्पनीले चिकित्सकमार्फत बजारीकरण गर्ने परम्परागत विधि नअपनाएर फार्मेसीलाई डिल बोनस दिएर बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरेको औषधि उद्योगीहरुले आरोप लगाउँदै आएका छन् ।
सर्वाधिक व्यापार बढाउनेमा ‘देउराली जनता’
शीर्ष २० उद्योगको छैटौं नम्बरमा देउराली जनता फर्मास्युटिकल्स रहेको छ । मधुमेह, मुटु जस्ता क्रोनिक लगायत विभिन्न वर्गको औषधि बनाउँदै आएको बीकम्प्लेक्स र डिजेफ्लेक्सजस्ता चर्चित औषधिको निर्माता देउरालीले यो वर्ष नेपालका सबै कम्पनीमध्ये सर्वाधिक व्यापार वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८।७९ को तुलनामा ७९।८० मा देउरालीले २६.२० प्रतिशतको आर्थिक वृद्धि गरेको छ । कूल बजारमा करिब ४ प्रतिशत हिस्सा ओगट्ने देउरालीले जनताले २ अर्ब ६० करोडको औषधि बनाएको छ ।
फार्मेसी काउन्सिलका अध्यक्ष समेत रहेका औषधि उद्योगी प्रज्ज्वलजंग पाण्डेले हाँकेको कम्पनी लोमसले पनि ७.५२ प्रतिश व्यापार वृद्धि गर्दै सातौ स्थानमा रहेको छ । २ अरब १५ करोडको औषधि बेचेको लोमसको पनि नेपाली कूल बजारमा करिब ४ प्रतिशत हिस्सा रहेको छ ।
नेपालका शीर्ष ९ कम्पनीको अघिल्लो आर्थिकवर्षको वृद्धि प्रतिशत
आठौंदेखि १२ औं नम्बरसम्म भारतीय कम्पनी
शीर्ष २० मध्ये ८ औं कम्पनीदेखि १२ औं नम्बरसम्म बहुराष्ट्रिय कम्पनीले नै ओगटेका छन् । करिब २ अर्बको औषधि बेच्दै अरिस्टो फर्मा ८ औंमा, १ अरब ५७ करोडको औषधि बेच्दै ग्लेनमार्क नवौंमा, माइक्रो ल्याव्स कम्पनी १ अर्ब १ अरब ३० करोडको व्यापारसहित १० औं नम्बरमा रहेका छन् ।
त्यस्तै ११ औंमा १ अर्ब ३४ करोडको बजारसहित ब्लु क्रस र स्वासप्रश्वासका औषधिमा स्थापित सिप्ला १२ औं नम्बरमा रहेका छन् । सिप्लाले गतवर्ष नेपालमा १ अरब ४७ करोडको औषधि बेचेको छ ।
निस मार्केटको खेलाडी म्याग्नसले टप्यो साइक्याट्रीको महारथी एशियनलाई
निस मार्केटको खेलाडी म्याग्नस १३ औं नम्बरमा रहेको छ । बजारमा अरु कम्पनीले नबनाउने र नपत्याउने औषधि बनाएर राम्रो नाफा कमाइरहेको म्याग्नस फर्मास्युटिकल पछिल्लो समयमा उच्च गतिमा वृद्धि भइरहेको कम्पनी हो । म्याग्नसले अघिल्लो आर्थिक वर्षमा १२.६० प्रतिशतको व्यापार वृद्धि गरेको छ । १ अरब ३७ करोडको औषधि बेचेको म्याग्नसको नेपाली कूल बजारमा २ प्रतिशतको हिस्सा छ ।
निम्सजस्ता चर्चित औषधिको निर्माता एशियनलाई भने यसपाली म्याग्नसले टपेको छ । अघिल्लो वर्षको तुलनामा ०.२७ प्रतिशतको झिनो वृद्धि हासिल गरेर १ अरब २९ करोडको औषधि बेचेको एशियनलाई अघिल्लो वर्ष पछाडी रहेको म्याग्नसले १२.६० प्रतिशतको वृद्धि हासिल गर्दै उछिनेको हो । अघिल्लो वर्ष एशियनले १ अर्ब २८ करोडको औषधि बेच्दा म्याग्नसले १ अर्ब २१ करोडको औषधिमात्र बेचेको थियो ।
त्यसपछि १५ औंमा १ अर्ब २६ करोड व्यापारका साथ बहुराष्ट्रिय कम्पनी सन फर्मा, १६ औंमा १ अर्ब १९ करोडको व्यापारसहित इन्टास फर्मा रहेका छन् ।
साइनेक्स बनाउने टाइम फर्माले गर्यो १३.१८ प्रतिशतको वृद्धि
त्यस्तै एन्टिबायोटिक, क्रोनिक सबै औषधि बनाउने चितवनमा रहेको टाइम फर्माले १३.१८ प्रतिशतको उत्कृष्ट वृद्धि गर्दै १७ औं नम्बरमा अटाएको छ भने नेपालका शीर्ष ९ कम्पनीमध्ये ९ औं नम्बरमा परेको छ । टाइमले अघिल्लो वर्ष १ अर्ब २३ करोडको औषधि बनाएको छ ।
१८ औं, १९ औं र २० औं नम्बरमा क्रमश बहुराष्ट्रिय कम्पनी सेन्ट्योर, एब्बोट र सिआरएस रहेका छन । अघिल्लो आर्थिक वर्षमा सेन्ट्योरले १ अर्ब २१ करोडको औषधि नेपालमा बेचेको छ भने एब्बोटले १ अर्ब ११ करोडको व्यापार गरेको छ ।
अमेरिकी संस्था युएसएडको अनुदानबाट चल्ने भनिएको परिवार नियोजनको साधन बिक्रि गर्ने नेपाल सिआरएस कम्पनीले ८८ करोडको कुल व्यापार गर्दै शीर्ष २० कम्पनीको २० औं स्थान ओगटेको छ ।