गोरखा, १४ कात्तिक । लेक लागेर बिरामी परेका दुई जना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
लेक लागेर बिरामी पर्नेमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेका छन् । उनीहरुको उद्धारका लागि आवश्यक सबै प्रक्रिया पूरा भए पनि हेलिकप्टर उडानमा समस्या परेपछि उद्धार गर्न कठिनाइ भएको उनले बताए ।
बिरामीको उद्धारका लागि आइतबार प्रयास गरिएको भए पनि असफल भएको थियो । प्रमुख जिल्ला अधिकारी भुसालले गृह मन्त्रालयले हेलिकप्टर उडानको अनुमति दिएको भए पनि मौसममा खराबीका कारण हेलिकप्टर उडाउन समस्या भएको हो ।
मन्त्रालयले अल्टिच्यूड एयरको हेलिकप्टर बिरामीको उद्धार गर्ने अनुमति दिएको उनको भनाइ छ । मौसममा सुधार आए आज दुवै जनाको उद्धार गरिने प्रजिअ भुसालले जानकारी दिए ।
कसरी लाग्छ लेक ?
उच्च पहाडी तथा हिमाली भेगमा २५०० मिटरभन्दा माथि जाँदा अक्सिजनको कमीका कारणले लेक लाग्दछ । यसका सामान्य तथा कडा गरी दुई प्रकारका लक्षण देखिने यस समस्याले व्यक्तिको ज्यानै समेत लिन सक्दछ । तसर्थ कतै अग्लो थानमा जाने यात्रुहरुले आफूमा लेक लाग्न्े समस्या भए÷नभएको स्वयम् पहिचान गर्नुपर्छ ।
लक्षणहरु तथा बच्ने उपाय
सामान्यतथा लेक लाग्ने समस्या भएका व्यक्तिहरुलाई टाउको दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने र थकाइ लाग्नेजस्ता समस्या देखिन्छ ।
यसबाट बच्नका लागि व्यक्तिले अग्लो स्थानमा नजाने, आराम गर्ने तथा ब्रेक लिदैँ यात्रालालाई निरन्तरता दिने, मादक पदार्थ सेवन नगर्ने, पर्याप्त मात्रामा पानी पिउने र सकभर एक्लै यात्रा नगर्नु नै उचित हुन्छ । साथ लेक लाग्ने समस्या भएकाले आफूसंग एसिटाजोलामाइड (डायमोक्स) २५० एमजी औषधीको प्रयोग गर्नु समेत उचित हुन्छ ।