काठमाडौँ, १३ कात्तिक । किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा एकसाथ कलेजो र मिर्गौलाको प्रत्यारोण गरिएको बिरामी डिस्चार्ज भएको छ । अस्पतालले २२ असोजमा चितवनकी ३३ वर्षीया महिलाको दूर्लभ मानिने कलेजो र मिर्गौला सफल प्रत्यारोण एकैसाथ सम्पन्न गरेको थियो । आइतबार अस्पतालले सोही बिरामी डिस्चार्ज गरिएको जानकारी दिएको हो ।
ती बिरामीमा कलेजो प्रत्यारोपण गरिएको र लगत्तै मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।बिरामीलाई आफ्नै ३५ वर्षीय श्रीमान्ले कलेजो र ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेका थिए । अङ्ग ग्रहणकर्ता र अङ्गदाता तीनै जनाको एकै साथ शल्यक्रिया प्रक्रिया थालिएको थियो।
प्रति १० लाख जनसंख्यामा एक जनामा सफल हुन सक्ने यस्तो जटिल र दुर्लभ स्वास्थ्य समस्याको उपचार विश्वका केही सीमित अस्पतालहरूमा मात्र हुने गरेको पाइन्छ। सो शल्यक्रियाका लागि १८ घन्टा लागेको थियो भने यसका लागि अस्पतालले बिरामीलाई शल्यक्रियाका लागि तयारी गर्न करीब ६ महिना लागेको अस्पतालका मेडिकल निर्देशक डा. प्रा.डा. सुरज बज्राचार्यले बताए ।
महिलामा जन्मजात कलेजोको रोग भएको र सोही कारण दुवै मिर्गौला बिग्रिन गएको अस्पतालले जनाएको थियो । प्रत्यारोपणमा भारतको अपोलो अस्पतालका चिकित्सक डा. निरभ गोयल, डा. अरुण कुमार मेनुथुरिमिल्ली र डा. सञ्जीव अनेजाको सहभागी थिए।
किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्रा।डा। मुकुन्दराज जोशीको नेतृत्वमा लिभर ट्रान्सप्लान्ट सर्जन डा. एकानन्द सिंह, डा. वरुण श्रेष्ठ, किड्नी प्रत्यारोपण सर्जन डा. नारायण भुसाल, डा. सन्तोष क्षेत्री र डा. कश्यप दाहाल लगायत सहभागी थिए।