काठमाडौँ, १२ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लेड (सिसा) को विषाक्तताबाट बच्न आग्रह गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले लेड (सिसा) को विषाक्तताबाट बच्न आग्रह गरेका हुन् ।
नेपालमा लेड(सिसा)को विषाक्तताबाट बचावटका लागि जारी अन्र्तराष्ट्रिय सचेतना सप्ताह आज ‘बाल्यकालमा हुन लेडको विषात्तता अन्त्य गरौं’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
नेपालको सन्दर्भमा बालबालिका, प्रजनन समूह, आयुर्वेदिक औषधी सेवनकर्ता समूहको रगतमा अवश्यकभन्दा बढी सिसा रहेको विभिन्न अनुसन्धानहरुले पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ । यसरी रगतमा सिसाको मात्रा बढी रहनुमा पेन्ट्स, सौन्दर्यका प्रशाधन, रंगीचंगी खेलौना, चाउचाउ तथा आयूर्वेदिक औषधी रहेका छन् ।
लेडको प्रयोगलाई निरुत्साहित गर्न सरकार प्रयत्नरत रहेको बताउँदै मन्त्रालयले यसको विषाक्तताबाट जोगिन सबैलाई आग्रह समेत गरेको छ ।