काठमाडौँ, १२ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) को पूर्ण बैठक भोलिदेखि शुरु हुने भएको छ । भारतको नयाँ दिल्लीमा हुने उक्त बैठकले यस क्षेत्रका लागि नेतृत्व गर्न नयाँ क्षेत्रीय निर्देशक चयन गर्नेछ ।
ठकले दक्षिण पूर्वी एसिया क्षेत्रको नेतृत्व गर्नका लागि उम्मेद्धारी दिएका दुई उम्मेदवार नेपालका डा शम्भूप्रसाद आचार्य र बंगलादेशकी साइमा बाजेदमध्ये एक जनालाई छनोट गर्नेछ। बैठकमा सहभागी जनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सचिव डा रोशन पोखरेल लगायत नेपाली टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ।
बैठक भोलि देखि चार दिन अर्थात ३० अक्टुबर देखि २ नोभेम्वर सम्म चल्ने बैठकले केही दिनमै निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ। क्षेत्रीय निर्देशकको चयन गर्न निर्वाचन कार्यतालिका बैठक सकिनु एक दिन अघि अर्थात १ नोभेम्बरका लागि तय गरिएको छ ।
डब्लुएचओ सेरोमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिब्स, उत्तरकोरिया, इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड र म्यानमार गरी ११ सदस्यीय राष्ट्र छन् । तर म्यानमारलाई अहिले भोट गर्ने अधिकार दिइएको छैन । यसैकारण यसपटक १० देशको भोटबाट क्षेत्रीय निर्देशक तय हुनेछ ।
बैठकले छनौट गरेको नामलाई आगामी २२ देखि २७ जनवरीमा स्विट्जरल्याण्डको जेनेभामा हुने डब्लुएचओ बोर्ड बैठकमा पेश गरिनेछ । नव नियुक्त क्षेत्रीय निर्देशकले १ फेब्रुअरी २०२४ देखि पाँच वर्षका लागि कार्यभार सम्हाल्नेछन् ।