काठमाडौं, १२ कार्तिक । स्वास्थ्य सेवाको हालसम्मकै ठूलो कल्याणकारी कार्यक्रम स्वास्थ्य बीमालाई लिएर पछिल्लो समय चौतर्फी आलोचना बढेपछि सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेर स्वास्थ्य मन्त्रालयका सहसचिव डा. मदन कुमार उपाध्यायलाई निमित्त कार्यकारी निर्देशक बनाएर पठाएको छ ।
बीमा कार्यक्रम असफलता तर्फ गएको भनेर प्रचार भइरहेका बेला निमित्त निर्देशकको जिम्मेवारी पाएका उपाध्यायले सुरु मै बीमा गर्नेहरुले पाउने उपचार प्याकेजलाई पुनरावलोकन गर्ने काम थालेका छन् । पाँचवर्ष पुरानो ‘बेनिफिट प्याकेज’मा आजको अवस्थामा पुनरावलोकन गर्नैपर्ने अवस्था भएर त्यसमा काम सुरु भएको डा. उपाध्यायले स्वास्थ्य डायरीलाई जानकारी दिए ।
हालसम्म बीमाको पुरानो प्याकेजमा उल्लेख भएका जाँच, उपचार र औषधिमात्र स्वास्थ्य बीमा गर्ने बीमितले पाइरहेका अवस्था छ ।
‘पुरानो प्याकेजमा कतिपय थप्नुपर्ने र कति हटाउनुपर्ने अवस्था छ । त्यसैले यसलाई पुनरावलोकन गर्न लागिएको हो ।’ उपाध्यायले भने ।
त्यस्तै स्वास्थ्य बीमा बोर्डले सेवा प्रदान गर्ने अस्पताललाई शोधभर्ना दिन ढिला हुँदा थुप्रै गुनासो आएको र कतिपय प्राइभेट अस्पतालले बीमितको उपचार नगर्ने घोषणा गरेपछि बोर्डले बीमितको तथ्यांक राख्ने, दावी भुक्तानी लिने र दिने लगायत कार्यलाई द्रुत र प्रभावकारी बनाउन सफ्टवेयरमा एआई (आटिफिसियल इन्टिलिजेन्स) जडान गर्ने भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका विभिन्न देशहरुको उदाहरण र सिकाईका आधारमा बीमालाई अघि बढाउन बोर्डले अन्तराष्ट्रिय विज्ञ नियुक्त गर्ने तयारी गरेको छ ।
बिरामीलाई अनावश्यक जाँच पड्ताल गराए सम्झौता खारेज गरिने
स्वास्थ्य बीमा कार्यक्रमका लाभान्वित बिरामीलाई अनावश्यक जाँचपड्ताल नगराउन बोर्डले सबै सेवा प्रदायक संस्थलाई परिपत्र गरेको छ ।
बीमित बिरामीलाई १ लाख बराबरको प्याकेज हुने भएपछि अस्पताल र चिकित्सकले अनावश्यक जाँच गराएर अनइथिकल प्राक्टिस गरेको गुनासोहरु प्राप्त भएकाले सो कार्य नरोकिए बीमा नियमावली २०७५ मा व्यवस्था भएबमोजिम अस्पतालसँगको सम्झौता रद्द गरिने पनि बोर्डले सूचित गराएको छ ।
स्वास्थ्य बीमा बोर्डमा के छन् डा. उपाध्यायका योजना ? भिडियोमा हेर्नुहोस् ।