मकवानपुर, १ कात्तिक । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको ओपिडी कक्षबाट अब मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई उपचार सेवा दिन सुरु गरिएको छ ।
अस्पतालले तीन दिनअघि देखि उक्त रोगका बिरामीलाई उपचार सेवा दिन थालिएको हो । हेटौँडा अस्पतालमा अहिले मकवानपुरका विभिन्न भेगबाट मनोरोगका बिरामी दैनिक ३० देखि ३५ जना उपचारका लागि आउने गरेका छन् । ती बिरामीहरुलाई सम्बन्धित चिकित्सकले स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार थप उपचारका लागि काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनको भरतपुरतर्फ पठाउने गरिएको हेटौँडा अस्पतालका मेसु डा रामचन्द्र सापकोटाले बताए ।
उक्त अस्पतालको परिसरमा रहेको भवनका विभिन्न कक्षमा महिला र पुरुषको छुट्टाछुट्टै शय्याको व्यवस्था गरी आवश्यक सुरक्षाको प्रबन्धसहित बिरामीहरुलाई नियमित भर्ना गरी उपचार दिने लक्ष्य रहेको उनले जानकारी दिए । अस्पतालमा अहिले प्रसूति सेवा, मिर्गौला रोगबाट प्रभावित बिरामीहरुलाई डाइलाइसिस उपचार सेवालगायत पेट र पत्थरीको पनि शल्यक्रिया गर्ने सुविधा उपलब्ध गराएको मेसु डा सोपकोटाले जनाए ।
हाल अस्पतालमा एक मनोचिकित्सकको दरबन्दी रहेको र अर्का एक चिकित्कको दरबन्दी उपलब्ध गराउन सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरी माग गरिएको आवश्यक प्रक्रिया पनि सुरु भइसकेको बताए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरी गम्भीर प्रकारका बिरामीलाई थप उपचारका लागि काठमाडौँको पाटन, वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा पठाउँदै आएको सूचना अधिकारी झाको भनाई छ ।