काठमाडौं, २९ असोज । निजी स्वास्थ्य संस्थाहरुमा चिकित्साकर्म गर्दागर्दै दश वर्षअघि नेपाल सरकारको स्वास्थ्य सेवामा उपसचिवका रुपमा प्रवेश गरेका डा. मदन कुमार उपाध्यायलाई मन्त्रालयका ‘स्मार्ट’ सहसचिव भन्दा फरक नपर्ला । बीचमा खुल्लाबाटै लडेर ६ वर्षअघि सहसचिव भएका उपाध्याय हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका प्रमुख हुन् ।
उपाध्यायलाई सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक बनाएका छन् । स्वास्थ्य बीमालाई असफलता तर्फ उन्मुख भएको भनेर चर्चा भरहेका बेला उपाध्यायलाई बीमाको निमित्त निर्देशक बनाइएको हो । बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेलगत्तै मन्त्री बस्नेतले प्रशासनिक र आर्थिक अधिकार दिएर उपाध्यायलाई बोर्डमा पठाएका हुन् ।
उपसचिवमा प्रवेश गरेको ४ वर्षमा खुल्ला सहसचिव लडेर ११ औं तहमा पुगेका उपाध्यायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘वेटिंग सचिव’ भन्दा पनि फरक पर्दैन । उनै उपाध्यायलाई स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डको संकट समाधान गर्ने अख्तियारी दिएर पठाएका छन् ।
एउटा रोचक संयोग के परेको छ भने उपाध्याय दोहोर्याएर बीमा बोर्डको कार्यकारी निर्देशक बनेका छन् । तर, फरक अवस्थामा । यसअघि २०७५ बैशाखमा मध्यामाञ्चाल स्वास्थ्य निर्देशनालयको प्रमुख हुँदाहुँदै बीमा बोर्डको कार्यकारी निर्देशक भएर राजधानी आएका उपाध्याय फेरी एकपटक मन्त्रालयबाट टेकु जाने भएका हुन् ।
पहिलेको नियुक्तिमा बीमा बोर्डमा गएर स्वास्थ्य बीमा ऐन अनुसार कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट छानेर मन्त्रालय गएका उपाध्याय यसपाली भने बीमाको गिरेको शाख उचाल्ने अभिप्रायले टेकु पठाइएका छन् ।
७६ जिल्लामा सुरु भैसकेको स्वास्थ्य बीमा कार्यक्रमका बारेमा पछिल्लो समय नकरात्मक धारणा बढेर गएको छ । करिब देशैभर फैलिएपनि जनसंख्याको एक चौथाई मानिसपनि यस कार्यक्रममा समेटिएको छैन । शोधभर्ना भुक्तानी ढिला हुँदा, निजी अस्पतालबाट दिइने बीमाको सेवा निश्प्रभावी हुँदा हाल बीमा कार्यक्रम सरकारी अस्पतालमा मात्र सीमित भएको छ ।
सरकारी अस्पतालको झन्झटिलो प्रकृयाका कारण सर्वसाधारणमा बीमाप्रतिको आकर्षण र विश्वास घट्दै गएको अनुमान गरिएका बेला उपाध्यायलाई बीमा बोर्डको कार्यभार सम्हाल्नु चुनौतिपूर्ण देखिन्छ ।
२०७० सालमा उपसचिवका रुपमा संखुवासभाको जिल्ला स्वास्थ्य प्रमुखका रुपमा सेवा आरम्भ गरेका उपाध्यायले सहसचिव नहुँदासम्म संखुवासभा र धनकुटाको जिल्ला अस्पताल र स्वास्थ्यको प्रमुख भएर काम गरे । सहसचिव भएपछि भने उपाध्यायले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक भएर हेटौंडामा काम गरे । त्यसपछि ७५ सालमा बीमा बोर्डमा आएका उपाध्याय त्यसपछि नारायणी अस्पताल पुगे । त्यहाँबाट मन्त्रालय आएका उनले उपचारात्मक सेवा महाशाखा हुँदै गुणस्तर मापन तथा नियन्त्रण महाशाखामा कार्यरत छन् ।
दुईपटक बीमा बोर्डको नेतृत्व सम्हाल्न जान लागेका उपाध्यायको अर्को संयोग के छ भने उनलाई पहिलोपटक एमालेका मन्त्रीले निर्देशक बनाए भने अहिले काँग्रेसका मन्त्रीले । उनलाई २०७५ सालमा तत्कालिन स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले कार्यकारी निर्देशक बनाएकी थिइन् ।
तर, यो संयोगलाई उपाध्याय प्राविधिकमात्र भएको मान्न तयार छन् । उनी भन्छन्, ‘मैले सम्पादन गरेको कार्यहरुबाट सचिवज्यू हरु र मन्त्रीज्यूहरु सन्तुष्ट भएर नै मलाई महत्वपूर्ण जिम्मेवारी दिइएको हो । यसमा राजनीतिक वा अन्य निकटताको कुनै गुञ्जायस छैन । यी सबै संयोग सैद्धान्तिक होइन, प्राविधिकमात्र हो ।’
तर, केही स्वास्थ्यकर्मी एवं सरोकारवालाले उपाध्याय चतुर भएको र मन्त्रीहरुलाई रिझाउन सिपालु भएको भनेर टिप्पणी गरेका छन् । उपाध्याय भने आफु कर्मचारी भएको र कुनै पार्टी विशेषको नभएको दावी गर्छन् । खुल्ला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिव बनेका उपाध्यायको अग्नीपरिक्षा भने बल्ल सुरु भएको छ । शाख गुमाउँदै गरेको बीमा कार्यक्रमलाई उचाल्न सक्छन् वा सक्दैनन् भन्न विषयले नै उपाध्यायको दक्षता र क्षमता प्रदर्शित हुने अपेक्षा गरिएको छ ।