पोखरा, २८ असोज । पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने २ जनालाई जेल चलान गरिएको छ।
चिकित्सकमाथि आक्रमण र अस्पताल तोडफोड अभियोगमा पक्राउ परेका दुई जनालाई न्यायाधीश ध्रुवकुमार पियाको इजलासले जेल चलानको आदेश दिएको हो ।
जेल चलान हुनेमा अस्पताल तोडफोड अभियोगमा पक्राउ विनय गुरुङ र छावा भनिने सुशील कार्की रहेका छन् । उनीहरुले असोज ८ गते अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि हातपात गरेका थिए ।
इजलासले स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने यसै कसुरमा विभिन्न मितिमा पक्राउ अन्य ७ जनालाई भने १ लाख धरौटीमा छोड्न आदेश दिएको छ ।
जसमा सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनास गुरूङ,अरुण गुरुङ, नितेश गुरुङ, विवेक गुरुङ, मनिष थापा र प्रदीप गुरुङ धरौटीमा रिहा भएका छन् ।