धरान, २७ असोज । ‘भावी पुस्ताको संरक्षण’ (Protecting future generations) भन्ने अवधारणामा विविध कार्यक्रम सहित् यो वर्षको बायो–इथिक्स दिवस नेपालमा पनि मनाइएको छ ।
वर्तमान मानव जीवन, समाजमा चिकित्सा, शिक्षा, शोध लगायत् यावत् क्रियाकलाप, व्यववहार, पेशागत धर्म, निर्णय गर्दा पछि आउने पिढी र जीवनको पनि हित र कल्याणबारे छलफल र पैरवी गर्न हरेकवर्ष अक्टोवर १९ का दिन दिवस मनाउने गरिन्छ । धरान स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिवार दिवसका अवसरमा कार्यक्रमको आयोजना गरिएको छ ।
बायो–इथिक्स नेपाल इकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट प्रतिनिधिहरु सहभागी भए ।
कार्यक्रम नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा भएको थियो । सो अवसरमा प्रतिष्ठानका शैक्षिक डिन प्रा.डा. शिवेन्द्र झाले दिवसको शुभकामना तथा बधाई दिए । नेपाल एकाईका प्रमुख प्रा.डा. शाक्यको परिचयात्मक र स्वागत मन्तब्य रहेको उक्त कार्यक्रम बायोइथिक्स विद्यार्थी संकायका अक्षता वस्ती र क्रिस आचार्यले सञ्चालन गरे ।
कार्यक्रममा डा. गजेन्द्र बिराजी, प्रतियोगिताका निर्णायकहरुका तर्फबाट बसन्त गेलाल र विद्यार्थी प्रस्तोता ओमकुमारले आआफ्ना प्रस्तुति राखे । विद्यार्थी संकायका सल्मान हैदर हुसेन र रिचा कोइरालाले संकायका विविध कार्यक्रम र अनुभवहरुका बारेमा जानकारी दिए । यस अवसरमा निबन्ध, कविता, चित्रकला पोस्टर, शोध पोष्टर, फोटोहरुको पनि प्रतियोगात्मक प्रस्तुति थियो ।
प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के, डा. अशोक ऐर र बसन्त गेलाल निर्णायक रहेको फोटोग्राफी प्रतियोगितामा सुरजा शाक्य, आसु झा र शशांक भट्टराई क्रमशः प्रथम, द्वितीय र तृतीय भए । त्यस्तै, प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के, डा. सरुन कोइराला, डा. किशोर गुरुङ र बसन्त गेलाल निर्णायक रहेको आर्ट पोष्टरमा रजनी न्यौपाने, असिम भट्टराई र सुरजा शाक्य क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।
प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के र बसन्त गेलाल निर्णायक रहेको अनुसन्धान पोष्टरमा चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाहको टोली र सिदार्थ गुप्ता, बालिका दाहाल, नकेन्द्र मल्ल, रिजन मल्लको टोली पुरस्कृत भए ।
प्रा.डा. धनरत्न शाक्य, खेम सुबेदी र डा. रिता खड्का निर्णायक रहेको निबन्धमा सत्यम मण्डल, ओमकुमार र पपुलर पोखरेल तथा प्रा.डा. धनरत्न शाक्य, डा. अशोक ऐर, डा. किशोर गुरुङ र डा. रिता खड्का निर्णायक रहेको कविता प्रतियोगितामा सुयोग झा, बिक्रम राना र पपुलर पोखरेल पुरस्कृत भए ।
नेपालका तर्फबाट सहभागी प्रा.डा. धनरत्न शाक्यबाट निर्देशित चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाहको टोलीको अनुसन्धान पोस्टरका लागि नेपाल यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा तृतीय भएको छ ।
कार्यक्रमका संयोजक नेपाल इकाई तथा प्रतिष्ठानको मानसिक रोग विभागका प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन् गर्ने यस्ता अबसर र कार्यक्रमहरु नियमित र बिस्तारित हुँदै जाने बताए । उनले यस वर्षको नाराले वर्तमान पिढीलाई भावी पुस्ताको लागि पनि साधनश्रोत, स्वास्थ्य, संस्कार, नीति, क्षमता र अधिकार सुनिश्चित हुने हिसाबले ब्यवहार गर्न, निर्णय लिन र जीवन जिउन आह्वान गरेको धारणा राखे ।
विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३ मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको छ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ ।