काठमाडौं, २६ असोज । नेपाली औषधि उद्योगीहरुको छाता संस्था नेपाल औषधि उत्पादक संघ एप्पोनको शुक्रवार सम्पन्न निर्वाचनबाट अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन् ।
निर्वाचित भएका पदाधिकारी र सदस्यमध्ये सर्वाधिक भोट एप्पोनमा इन्ट्री गरेका नयाँ औषधि उद्यमी सुमितचन्द्र श्रेष्ठले पाएका छन् । कुल ५३ मत खसेकोमा उनले सर्वाधिक ४७ मत पाए ।
क्युबीडी फर्मास्युटिकल्समा आवद्ध श्रेष्ठ यसअघि एनपीएलमा लामो समय काम गरेका थिए । फर्मासिस्ट समेत रहेका श्रेष्ठले ओम फर्मास्युटिकल्सको महाप्रबन्धकका रुपमा पनि काम गरिसकेका छन् ।
५ वर्षदेखि आफै औषधि उद्योग संचालन गरिरहेका श्रेष्ठले नेपाली फर्मास्युटिकल क्षेत्रलाई थप प्रतिस्पर्धी र गुणस्तरीय बनाउन आफुले काम गर्ने बताए । सदस्य निर्वाचित भइसेकपछि स्वास्थ्य डायरीसँग कुरा गर्दै श्रेष्ठले औषधि उत्पादक संघमा युवापुस्ताको सीप, सिर्जना र योगदानको जरुरत भएकाले आफुलाई धेरै सदस्यले रुचाएको हुनसक्ने बताए ।
संघमा श्रेष्ठका अलावा निवर्तमान कोषाध्यक्ष प्रभात रुंगटाले ४६ मत, पंकजकुमार तिवारी ४५, पृथ्वि राजभण्डारी ४३ मत पाएका छन् । त्यस्तै सन्तोष बरालले ४१ मत, शैलेस वैद्य, सुदर्शन खगोली र सजनराज रेग्मीले समान ३९ मत पाएर निर्वाचि भएका छन् । दीपक कुमार तिव्डेवालले ३८ मत पाएर निर्वाचित भएका छन् । त्यस्तै, सदस्यमा प्रतिस्पर्धा गरेका ईश्वरकुमार भण्डारी र सजलराज रेग्मी भने पराजित भएका छन् ।
निर्वाचित भएपछि श्रेष्ठको प्रतिक्रिया भिडियोमा हेर्नुहोस् ।