काठमाडौं, २६ असोज । औषधि उत्पादक संघ एप्पोनको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
प्रज्ज्वलजंग पाण्डे नेतृत्वको कार्यसमितिको अवधि सकिएसँगै एप्पोनले शुक्रवार राजधानीमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्दैछ ।
नयाँ नेतृत्वमा अध्यक्षका लागि चारजना आकांक्षी देखिएका छन् । जसले गर्दा एप्पोनको नयाँ कार्यसमतिमिा सहमति नभई निर्वाचन हुने संकेत देखिएको छ । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष महेश प्रधानको स्वभाविक दावी रहेको छ भने उपाध्यक्ष सन्तोष बराल, महासचिव विप्लव अधिकारी र कोषाध्यक्ष प्रभात रुंगटा पनि अध्यक्षको प्रत्यासीका रुपमा देखापरेका छन् ।
औषधि उत्पादक संघमा कहिले सहमति त कहिले निर्वाचनका माध्यमबाट नेतृत्व चयन हुँदै आएको इतिहास छ । नेपालमा ८० भन्दा धेरै औषधि उद्योग रहेको छ भने करिब ३० अरबको स्वदेशी औषधिको बजार हिस्सा रहेको छ । पछिल्लो समयमा औषधिमा आत्मनिर्भरताको बहस चलिरहेका बेला उद्योगीहरुको छाता संस्था एप्पोनमा कस्तो नेतृत्व आउने भन्नेले धेरै अर्थ राख्ने औषधि उद्योगीहरु बताउँछन् ।
एप्पोनको यस अधिवेशनले सहमतिमा नेतृत्व चयन गरेमा वरिष्ठ उपाध्यक्ष महेशप्रसाद प्रधान अध्यक्ष हुने सम्भावना रहेको छ । सहमति नभएर निर्वाचनमा जाँदा चारजनामध्ये २ जना मैदानमा जाने र दुईजना पछि हट्ने सम्भावना रहेको छ ।
निर्वाचनमा गइहालेमा संघमा दुईपुस्ताबीच संघर्ष हुने देखिएको छ । अघिल्लो पुस्ताका प्रतिनिधि पुराना र सफल औषधि उद्योगी समेत रहेका हालका वरिष्ठ उपाध्यक्ष महेश प्रधानलाई संघको अध्यक्ष बनाउने सोचमा रहेको बुझिएको छ भने नयाँ पुस्ताका उद्योगीहरु भने युवा नेतृत्वको पक्षमा उभिनसक्ने आंकलन गरिएको छ । यद्यपी यसको स्पष्ट कित्ताकाट भने भैसकेको छैन ।
संघसँग भएका स्थायी र अस्थायी सदस्यमध्ये करिब ६० वटा उद्योगका प्रतिनिधिमात्र निर्वाचन प्रकृयामा भाग लिँदैछन् । संघमा २ वटा अस्थायी सदस्यता लिएका उद्योग छन् जसले निर्वाचनमा भाग लिन पाउँदैनन् । भने १३ वटा उद्योगले लेवी नतिरेकाले मत हाल्न नपाउने व्यवस्था रहेको संघका एक पदाधिकारीले स्वास्थ्य डायरीलाई बताए ।
एप्पोनमा भइरहेको नेतृत्वको शक्तिसंघर्षलाई कतिपयले राजनीतिक रुपमा कित्ताकाट पनि गरेका छन् । महेश प्रधानलाई एमालेनिकट र विप्लव अधिकारीलाई काँग्रेसनिकटको संज्ञा दिएर मतविभाजनको प्रयास भइरहेको एकजना उद्योगीले बताए । यद्यपी उद्योगीहरुको संघमा राजनीतिक कित्ताबाट नभई क्षमता र उत्कृष्टताका आधारमा नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ छ ।
संघको निर्वाचनका लागि शुक्रवार १ः३० बजेदेखि निर्वाचनको प्रकृया सुरु भएको छ ।