काठमाडौं, २५ असोज । नेशनल बाथरोग सेन्टर रोतोपुलको देशैभरका शाखाबाट मंसिर २५ गतेसम्म निःशुल्क बाथरोगको प्रारम्भिक परीक्षण गर्न सकिने भएको छ ।
विश्व बाथरोग दिवसका अवसरमा बिहीवार राजधानी एक कार्यक्रमको आयोजना गर्दै सेन्टरले बाथरोगको सचेतना विस्तार र समयमै बिरामीलाई उपचारको पहुँचमा ल्याउनका लागि निःशुल्क परीक्षण अभियान राखेको जानकारी दिएको छ । सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले देशभर भएका बाथरोगका करिब १२ १३ प्रतिशत बिरामीमात्र परीक्षण र उपचारको पहुँचमा रहेको भन्दै बाथरोगका लागि थप सचेतना विस्तार जरुरी रहेको बताए ।
सो अवसरमा सेन्टरका बाथरोग विशेषज्ञ डा. बिनीत वैद्यले बाथरोगका बारेमा थुप्रै भ्रम समाजमा रहेको बताए । बाथरोग र युरिक एसिडलाई एकै भन्ने, बाथरोगको औषधिले मुटु, मिर्गौला खराब हुन्छ भन्ने लगायत भ्रम रहेको उनको भनाइ छ । बाथरो्गका थुप्रै प्रकार रहेको भन्दै वैद्यले चिकित्सकको निगरानीबिना मेडिकलको औषधि खाँदा थप जटिलता आउनेतर्फ सजग गराए ।
सो कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री गगत कुमार थापाले बाथरोगको उपचारको सचेतना विस्तारका लागि सेन्टरले स्थानीय सरकार र प्रदेश सरकारसँग मिलेर काम गर्नुपर्ने बताए । स्थानीय र प्रदेश सरकारसँग मिलेर विपन्न वर्गलाई निःशुल्क परीक्षण र उपचार गर्नुपर्ने उनको सुझाव छ । त्यस्तै बाथरोगले निम्त्याउने क्षतिलाई मूल्यांकन गर्दै यसलाई पनि सरकारले सूचिकृत गरेको जटिल रोगको सूचिमा राख्नसकिने थापाको भनाइ छ ।
भिडियो हेर्नुहोस् ।