काठमाडौं, २५ असोज । नेपाल औषधि उत्पादक संघ, औषधि व्यवस्था विभाग र जर्मन सहयोगमा एकदिने फर्मा कनक्लेभको आयोजना गरिएको छ ।
राजधानीको याक एण्ड यति होटलमा आयोजित कनक्लेभमा नेपाल बाहेक भारत र बंगलादेश लगायत देशका औषधि विज्ञ, प्राध्यापक र उद्योगीका प्रतिनिधि सहभागी भएका छन् ।
कनक्लेभ नेपालको औषधि अनुसन्धान, उत्पादन, बजारीकरण र निर्यातका विविध सम्भावनाका बारेमा केन्द्रित रहेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्ज्वलजंग पाण्डेले स्वास्थ्य डायरीलाई बताए । ‘नेपालको औषधि बजारलाई विस्तार गर्न सकिने भएपनि नीतिगत तहमा पनि सुधार आवश्यक छ, भएका कानून कार्यान्वयन भएका छैनन् भने नयाँ नीतिगत पहलहरु आवश्यक छ । यीनै समग्र विषयमा बहस गर्न यो कनक्लेभ गरिएको हो ।’ पाण्डेले भने ।
कार्यक्रममा नेपाली औषधि उत्पादकको क्षमता वृद्धि, अनुसन्धान एवं विकास र अन्तराष्ट्रिय बजारका सम्भावनाका बारेमा पनि चर्चा भएको छ । एकदिन कनक्लेभको पहिलो सत्रमा नेपालको औषधि बजारको अबको बाटो भन्ने विषयमा विज्ञहरुले छलफल गरे । यस सत्रमा छिमेकी देश भारत र बंगलादेशले कसरी औषधि बजारका क्षेत्रमा रुपान्तरण गरे भन्ने विषयमा पनि छलफल भएको छ ।
छलफलमा बंगलादेशको ढाका विश्वविद्यालयका फार्मेसीका प्राध्यापक डा. सितेश सी बचर, काठमाडौं विश्व विद्यालयका प्राध्यापक डा. पन्ना थापा, स्वास्थ्य सेवा विभागका वरिष्ठ औषधि व्यवस्थापक डा. पान बहादुर क्षेत्री, अन्तराष्ट्रिय औषधि बजारका जानकार डा. निकुञ्ज पटेल, नेपालमा क्यान्सरको औषधि बनाउन थालेको टिजिग फर्मास्युटिकलका शैलेस वैद्य सहभागी भए ।
औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष महेश प्रधानले सञ्चालन गरेको सो सत्रमा ढाका विश्वविद्यालयका प्राध्यापक डा. सितेशले बंगलादेशले औषधि उत्पादन र बजारको अन्तराष्ट्रियकरण कसरि गर्यो भन्ने विषयमा जानकरी दिए । औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक क्षेत्रीले नेपालमा कतिपय नीतिगत परिवर्तन गर्नैपर्ने अवस्था आएको बताए ।
कार्यक्रमको दोश्रो सत्रमा विषयगत नीति र नियमनमा सुधार गर्नुपर्ने विषयमाहरुमा केन्द्रित रह्यो । सत्रमा उद्योग तथा वाणिज्य मन्त्रालयका प्रकाश आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. मदन कुमार उपाध्याय, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, औषधि उत्पादक संघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डे, ढाका विश्वविद्यालयका प्राध्यापक डा. सितेश सि बचर लगायत सहभागी भए ।
सो सत्रमा नेपालको औषधि ऐन लगायत नीतिगत व्यवस्थामा आवश्यक सुधारका बारेमा छलफल भयो ।
सो सत्रको सुरुमा औषधि व्यवस्था विभागकी वरिष्ठ औषधि व्यवस्थापक शिवानी खड्गीले नेपालको औषधि क्षेत्रको विकास र कानुनी व्यवस्थाका बीचमा भएका खाडलहरु त्यसलाई सुधार गर्न गर्नुपर्ने कार्यहरुका बारेमा जानकारी दिइन् ।
भिडियो हेर्नुहोस् ।