काठमाडौँ २४ असोज । विराटनगरको ग्रिनक्रस अस्पतालबाट चिकित्सकको संलग्नतामा भएको शिशु बिक्री प्रकरणको थुनछेक बहस सकिएको छ ।
बुधवार भएको थुनछेक बहसमा मोरङ अदालतको न्यायधिश अम्बिका प्रसाद दाहालको इजलासले पुर्पक्षका लागि प्रकरणका प्रमुख अभियुक्त डाक्टर तपेश्वर लाल कर्ण सहित तीन जनालाई कारागार चलान आदेश दिएको छ । अन्य तीन जना भने धरौटीमा रिहा भएका छन्।
कारागार चलान हुनेमा शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई, दीपेश मेडिकल हलका सञ्चालक तथा ग्रिनक्रस अस्पतालका चिकित्सक विराटनगर–२ का ६८ वर्षीय डा तपेश्वर लाल कर्ण र रकम दिएर शिशु लिने कटहरी गाउँपालिका–२ की ३० वर्षीय सूर्यनारायण राजवंशी रहेका छन्।
यस्तै ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी २ लाख, सिराहाको कल्याणपुरकी ३८ वर्षीया निर्मला यादव १ लाख र कटहरी–२ कि ४६ वर्षीया दिलमाया राजवंशी १० हजार धरौटी बुझाएर रिहा भएकी हुन्।
ग्रिनक्रस अस्पतालका सञ्चालक ५५ वर्षीय कृष्ण खवासको हकमा जिल्ला सरकारी वकिलको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएर माथवर व्यक्तिको जिम्मा लगाउने निर्देशन भएअनुसार जिम्मा लगाएर पठाइएको छ।
खास भएको के थियो ?
असार १४ गते जन्मिएको एक शिशु अस्पतालबाटै बेपत्ता पारिएको थियो। शिशुकी आमाले जाहेरी दिएपछि अनुसन्धान गर्दै जाँदा अस्पतालका डा. कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रूपैयाँमा बिक्री गरेको खुलेको थियो।
कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिकै छ। आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा. कर्णले शिशु बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ।
त्यसपछि प्रहरीले उक्त प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेको थियो।