काठमाडौँ २३ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई आर्थिक अभावका कारण निष्काशन गर्नुपरेको बताएका छन् ।
विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको सुनाए।
मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार एकैपटक सेवाबाट हटाएको थियो। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रुपमा रहेको भन्दै अब यो छिट्टै समाधान हुने मन्त्री बस्नेतको भनाई छ ।
उनले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने काम अलमलिएर बसेको भन्दै चाँडै नै विज्ञापनमार्फत् नयाँ नियुक्ति प्रक्रिया थालिने बताए। मन्त्री बस्नेतले देशको आर्थिक अवस्था पनि विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि हटाउन बाध्य भएको दाबी गरे।